ताजा समाचार

महन्थले बोलाए जसपा बैठक, पुस ७ को माइन्युट बोकेर आधिकारिकता माग्ने

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बुधवार कानून व्यवसायीसँग छलफल गरेका ठाकुरले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोग जानुअघि बैठक बोलाएका हुन् ।

जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ । पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी छ ।

ठाकुरले पुस ७ को सोही बैठकको अधिकार प्रयोग गरेर कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर निर्वाचन आयोगलाई पठाएका थिए । यादव पक्षले भने पुस ७ को बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको भन्दै किर्ते गरेको आरोप लगाएको छ ।

जसपा अध्यक्ष ठाकुरले कार्यकारिणी समिति र विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेपछि आयोगले दिएको १५ दिनको समयभित्र जवाफ पठाउने नेता राजकिशोर यादवले बताए ।

जसपाको विवाद अहिले निर्वाचन आयोगमा विगतको नेकपाको जस्तै जेलिएको छ । नेकपाको पालामा पनि दुई अध्यक्ष र दुईथरी बैठकका निर्णयले मान्यता नपाउँदा नपाउँदै नेकपा नै अदालतबाट खारेज भएको थियो ।

जसपामा पनि पुस ७ गतेपछि एकीकृत ढंगले पार्टीको बैठक बस्न सकेको छैन । त्यसयताका बैठक एकपक्षीय र विवादित छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org