ताजा समाचार

‘गणतन्त्रप्रति वैरभाव राख्नेहरू राष्ट्रपति चिथोर्ने कम्पिटिसनमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै राष्ट्रपतिमाथि जथाभावी टीकाटिप्पणी र गालीगलौज गर्ने कार्यमा सक्रिय भएको भन्दै असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रप्रति वैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउने तत्वहरू राष्ट्रपतिलाई गाली गर्न र चिर्थोर्ने कार्यमा अग्रसर भइरहेको आरोप लगाए ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिलाई गाली गर्ने प्रतिस्पर्धा चल्नु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चलेको छ ।

जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो, त्यो ठूलो हुने कम्पिटिसन छ ।’ प्रधानमन्त्री ओलीले केही भुतपूर्वहरूको लस्करले मिट द प्रेस गरेर राष्ट्रपतिलाई गाली गर्दै राष्ट्रपतिभन्दा राजा राम्रो भन्नु आपत्तिजनक भएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिमा विगतमा पनि बाह्य हस्तक्षेप हुने गरेको बताउँदै राजनीतिलाई सही ढंगले चल्न नदिँदा त्यस्ता समस्या देखिने गरेको जनाए ।

उनले राजनीतिलाई राजनीति गर्ने थलोमा जान नदिने, संसद्मा पनि राजनीतिको टुंगो नगर्ने, राजनीति अन्तै लगेर टुंगो गर्ने प्रवृत्तिले बाह्य हस्तक्षेप बढ्न सक्ने खतरा रहने स्पष्ट पार्दै राजनीतिक विषयहरूको टुंगो राजनीतिक संस्थाहरूले वा राजनीतिक पार्टीहरूले लगाउनुपर्ने ठाउँमा अदालतबाट राजनीतिको फैसला खोजेपछि राजनीतिमा समस्या आउन सक्ने ओलीको जिकिर थियो ।

‘अदालतले त संविधान र कानुनको कुरा गर्ने हो, राजनीतिक होइन,’ प्रधानमन्त्री ओलीले भने । ओलीले नेपालको संसद्मा खुर्सानीको धुलो बोकेर जाने र संसद्को लडाइँ माइकले हानेर गर्नेहरूसँगको लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै जित्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘राजनीतिमा भ्रम फिँजाउन खोजिएको छ । त्यसकारण संसद्मा खुर्सानीको धुलो बोकेर जानेहरू, संसद्को लडाइँ माइकले हानेर गर्नेहरूसँगको यो लडाइँ शान्तिपूर्ण र सत्यको अस्त्रबाटै हामी जित्न सक्छौं भन्ने मैले विश्वास लिएको छु । त्यसकारण चिन्ता गर्नुपर्दैन भन्ने पनि म साथीहरूलाई आश्वस्त पार्न चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org