ताजा समाचार

एमालेमा विधान महाधिवेशनको गृहकार्य,स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको गृहकार्य अघि बढाएको छ । दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको एमालेले जनाएको छ ।

पार्टीको महाधिवेशनमै नीति र नेतृत्वको बहस हुँदा सबैको ध्यान नेतृत्व चयनमा केन्द्रित हुँदा व्यवस्थित ढंगले कार्यदिशा,विधान र विचारमाथि छलफल हुन नसकेकाले अब नीतिको बहस विधान महाधिवेशनमा हुने एमाले नेताहरू बताउँछन् ।

एमालेको नवौं राष्ट्रिय महाधिवेशनले नै विधान महाधिवेशनको व्यवस्था गरेकाले त्यसको गृहकार्य भइरहेको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले बताए । विधानको धारा १३ मा एक राष्ट्रिय महाधिवेशनदखि अर्को महाधिवेशनका बीचमा विधान महाधिवेशन गरिने उल्लेख छ ।

विधान महाधिवेशन वर्तमान राजनीतिक घटनाक्रमलाई हेरेर एक दुई महिनाभित्रै सम्पन्न गर्ने तयारी एमालेको छ । माधव नेपाल पक्ष एमालेमा रहने वा नरहने कुराले पनि त्यसको मितिमा तलमाथि हुने स्रोतले जनाएको छ ।

पछिल्लो समय एमालेको शीर्ष नेतृत्व विधान महाधिवेशनको गृहकार्यमा छ । त्यसका लागि गर्नुपर्ने पूर्व तयारी र संगठनात्मक योजनाको समेत गृहकार्य भइरहेको एमाले स्रोतले जनाएको छ । महासचिव ईश्वर पोखरेलसहितको टिमले विधान महाधिवेशनको लागि आवश्यक पूर्व तयारीको काम गरिरहेको छ ।

एमालेको दशौं महाधिवेशन मंसिरमा तोकिएको छ । तर मंसिरमा प्रतिनिधिसभाको चुनाव भएकाले त्यसअघि नै विधान महाधिवेशन गर्ने तयारी भइरहेको संगठन विभागका सदस्य समेत रहेका एमाले नेता भानुभक्त ढकालले बताए ।

चुनावका कारण महाधिवेशन सरे पनि विधान महाधिवेशन भने केही समयमै सम्पन्न गर्न सकिने ढकालको भनाइ छ । एमाले स्रोतका अनुसार माधव पक्ष एमालेमा रहने वा नरहने अवस्था हेरेर दशौं राष्ट्रिय महाधिवेश पनि मंसिर अघि नै गर्ने विषयमा समेत छलफल चलिरहेको छ ।

स्थायी बैठक बिहान ९ बजे बोलाइएको कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।

राष्ट्रिय परिषद्‌को गठन

विधान महाधिवेशन भन्दा पहिले राष्ट्रिय प्रतिनिधि परिषद गठन गर्नुपर्ने भएकाले अहिले महासचिव पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेल लगायतका नेता त्यसमा केन्द्रित छन् ।

एमालेको विधान महाधिवेशनका प्रतिनिधि भनेकै राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुन् । त्यसमा केन्द्रीय कमिटी,केन्द्रीय निकाय,केन्द्रीय विभाग,जनवर्गी संगठनका पदाधिकारी,जिल्ला कमिटी अध्यक्ष,निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सदस्य लगायत पर्छन् ।

एमालेको नवौं महाधिवेशनबाट पारित विधान अनुसारको राष्ट्रिय प्रतिनिधि परिषद अहिलेको संविधानसँग मेल खाँदैन । त्यसबेला २ सय ४० निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सदस्य थिए ।

त्यस्तै त्यसबेला अन्चल कमिटीका सचिव राष्ट्रिय प्रतिनिध परिषद सदस्य थिए । अब प्रादेशिक संरचनामा गइसकेकाले त्यसलाई पनि संविधानसँग मिल्ने गरि परिषद सदस्यहरुको व्यवस्था गरिने भएको छ ।

अहिले अन्चलको ठाउँमा प्रदेश र २ सय ४० को साटो १ सय ६५ निर्वाचन क्षेत्र भएकाले विधान र संविधान मिलाउन बाधा अड्काउ फुकाउनु पर्ने नेताहरुले बताएका छन् । १ सय ६५ निर्वाचन क्षेत्रबाट निर्वाचित हुने खुला सदस्यका साथै दलित र महिलाको समेत बेग्लै प्रतिनिधित्व हुने व्यवस्था छ ।

साबिक नेकपा विभाजनको बेला केपी ओली पक्षले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा थप गरेर बनाएका १ हजार भन्दा बढी सदस्यीय केन्द्रीय कमिटीमा थपिएका नयाँ सदस्यलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनाउने निर्णय भएको छ ।

सोही अनुसार परिषद गठन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पूर्व माओवादीबाट राष्ट्रिय प्रतिनिधि परिषद तथा केन्द्रीय निकाय तथा विभागमा समायोजन हुने सदस्यहरुको सूची रामबहादुर थापा बादल समूहले तयार पारेको छ ।

विधान र संविधान समेत मिल्ने गरि राष्ट्रिय प्रतिनिधि परिषदको गठन दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले बाधा अड्काउ फुकाउमार्फत गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

एमालेका एक नेताले भने- ‘राष्ट्रिय महाधिवेशनमा नेतृत्वको चयनमात्र गर्ने र विधान तथा पार्टीको नीति सिद्धान्त तथा कार्यक्रममाथि छलफल विधान महाधिवेशन हुनुपर्छ । त्यसो हुँदा पर्याप्त छलफलका साथ निर्णय हुन्छ र पार्टीले सही दिशा लिन्छ भनेर नवौं महाधिवेशनबाटै यो व्यवस्था गरिएको हो ।’

राष्ट्रिय प्रतिनिधि परिषद्‌ गठनको गृहकार्य सकिएको अवस्थामा आइतबारै स्थायी कमिटी बैठक बस्ने तयारी छ । बैठकमा प्रस्तुत गर्ने कार्ययोजना तथा प्रस्ताव महासचिव पोखरेलले तयार पारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org