ताजा समाचार

माधव समूह शब्द–शब्दमा शंका गर्न थाल्यो : ओली समूह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा शब्द–शब्दमा शंका गर्ने प्रवृत्ति हावी भएको निष्कर्ष निकालेको छ । उनीहरुको माग अनुसार नै २०७५ जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउँदा पनि शंका व्यक्त गरेको एक नेताले बताए ।

“हरेक कुरामा पछिल्लो समय अलि बढी शंका गरिएको छ । शब्द–शब्दको विष्लेषण गरेर शंका व्यक्त गर्ने प्रवृत्ति हावी भएको छ । कसरी गरे कसरी गरेनन् । के बोले भन्ने कुरामा अलिक बढी शंका भएको देखिन्छ,” उनी भन्छन्, “तर, पार्टी अध्यक्षले आफूलाई पार्टी एकताबद्ध बनाउन जुन ठाउँमा उभ्याइरहनु  भएको छ । सबैले यति गर्न सक्दैन ।”

आजको बैठकमा नेताहरुको पोर्टफोलियो अनुसार निम्ता पठाइएको छ । महाधिवेशन आयोजक कमिटी भंग गरेर लचकता अपनाउँदा पनि त्यसलाई शंकाको दृष्टिले हेरेर बैठकमा नआउनुपर्ने कुनै कारण नरहेको ती नेताको भनाइ छ ।

“बैठक कसरी बस्न भन्ने सन्दर्भमा निम्तो गर्दा पनि पोर्टफोलियो नै तोकेर निम्तो गरिएको छ । यो हदको सबै प्रयत्न गरिएको छ । पार्टी अध्यक्ष स्वयम्को पहलमा फोन वार्ता सुरु गर्नु भएको छ । उहाँहरुको माग बमोजिम नै बैठक डाकिएको हो । नत्र भने हामी दशौं महाधिवेशन आयोजक कमिटीले महाधिवेशन आयोजना गर्ने तयारीका साथ अघि बढेका थियौं,” ओली समूहका एक नेता भन्छन्, “ती कुरालाई अन्त्य गरेर जेठ २ कै कमिटीमा गएको हो । त्यति गर्दा पनि तलकुरे बाइमात्रा मिलेन भनेर अड्किनुपर्ने ठाउँ चाहीँ हामीले देखेका छैनौं ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org