ताजा समाचार

जसपा विभाजन : छुट्टिने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुट्ने पक्कापक्की भएको छ। सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले  मंगलबार बोलाएपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्ष मंगलबार आयोग पुगेर आ-आफ्नो दाबी पेश गरेका छन्।

आयोगको छलफलमा सहभागी भएका नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गर्नुभएकाले त्यसैमा सहमति भएको बताए। उनले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको पनि बताए। छलफलपछि पत्रकारमाझ झाले भने, ‘मिलेर जानेबारे केहीबेर छलफल भएपनि त्यो सम्भावना देखिएन। अब हामी मिलेर जान सकेनौं। हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा हस्ताक्षर गरेर आइसकियो।’

उनले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिए। निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गरेको छ। जसपा विवाद समाधानका लागि आयोगले बुधबार इजलास गठन गर्ने छ र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति भएको छ।

निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेता सहभागी थिए।

निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई ‘कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको छ। आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला दिएको थियो।

अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गरेका थिए। दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो। जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादवबीच विवाद चुलिदै गएको छ।

एक वर्षअघि राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजबादी पार्टी (सपा)बीच एकीकरण भएर जसपा पार्टी बनेको थियो। एकतापछि ठाकुर र यादव गरी दुई अध्यक्ष रहने व्यवस्था गरिएको थियो भने डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org