ताजा समाचार

लगभग हामी समाधानको बिन्दूमा आएका छौंः गोकर्ण विष्ट

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदल सदस्‍य गोकर्ण विष्टले लगभग विवाद समाधानको बिन्दुमा पुगेको दाबी गरेका छन् ।

आज सिंहदरबारमा केही बेर बसेको कार्यदल बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै साँझ बस्ने बैठकले धेरै हदसम्म समाधान खोज्ने विश्वास व्यक्त गरे । विवाद समाधान गर्न अब धेरै समय नलाग्ने उनको भनाइ छ ।

‘कार्यदलले चौथो बैठक सम्पन्न गरेको छ । हिजोभन्दा आज थप प्रगती भएको छ । केही कुरा बाँकी छ त्यो कुरा टुंगो लगाउने गरी साँझ फेरि छलफल हुनेछ,’ उनले भने, ‘निष्कर्षमा पुग्न अब त्यती धेरै समय लाग्दैन । आज बेलुका धेरै हदसम्म समाधान खोज्छौं । अब धेरै लामो समय लाग्ने अवस्था छैन । लगभग हामी समाधानको बिन्दूमा आएका छौं ।’

सिंहरबारमा आज केही बेर बसेको कार्यदलको बैठक साँझ पुन: बस्‍नेगरी स्थगित भएको छ । हिजो साँझ एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपालबीच छलफल भएको थियो । ओली–नेपाल छलफल अघि बुधबार पनि कार्यदल बैठक बसेको थियो । कार्यदलकोबैठक सोमबारदेखि निरन्तर बसिरहेको छ ।

एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । यता नेपाल समूहबाट भीम रावलको संयोजकत्वमा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org