ताजा समाचार

भीम रावलले राजीनामा फिर्ता लिने

काठमाडाै । संघीय सांसदबाट राजीनामा घोषणा गरेका नेकपा एमालेका उपाध्यक्ष भीम रावल आफ्नो निर्णयबाट पछि हट्ने भएका छन्। उनले सांसद पदबाट गरेको राजीनामा घोषणा फिर्ता गर्ने भएका हुन्।

उनले भोलि नै राजीनामा फिर्ता लिने स्रोतले जनाएको छ। पछिल्लो समय एमालेलाई एकतावद्ध बनाउने अभियानमा रहेका उनले वरिष्ठ नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई विश्वासको मत दिने भएपछि सांसद पद छाड्ने घोषणा गरेका थिए।

साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुअगाडि रावलले संसद भवनमै राजीनामा घोषणा गरेका थिए । यद्यपि उनको राजीनामालाई संसद सचिवालयले स्वीकृति प्रक्रिया अघि बढाइसकेको छैन।

स्रोतका अनुसार एमाले एक बनाउन ओली पक्षसँगको वार्तालाई अघि बढाउन वरिष्ठ नेता नेपाल तयार भएपछि उनले राजीनामाबाट पछि हट्ने निर्णय लिएका हुन्। राजीनामा फिर्ताबारे उनले हिजो भएको भेटमा नेपालसँग छलफल गरेका थिए। नेता नेपालले कार्यदलको १० बुँदे सहमति अनुसार एमालेमै रहेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि रावल राजीनामाबाट पछि हटेको स्रोतको दाबी छ।

रावलको राजीनामा स्वीकृत नगर्न सभामुख अग्नि सापकोटालाई समेत आग्रह गरिएको स्रोतले जनाएको छ। तर, सभामुखको सचिवालयले रावलको राजीनामाबारे अहिलेसम्म कुनै पनि कागजात प्राप्त नभएको जनाएको छ।

‘भीम रावलजी पनि फर्कनुहुन्छ, राजीनामा फिर्ता लिनेतिर गइसक्नुभएको छ। भोलि नै राजीनामा फिर्ता लिनुहुन्छ,’ वरिष्ठ नेता नेपालनिकट स्रोतले भन्यो, ‘त्यसका लागि नेताहरुसँग कुरा भएर सहमति जुटिसकेको छ ।’

रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका सांसदहरु र नेताहरुले दबाब दिएका छन् । राजीनामा घोषणा गर्ने दिन पनि अर्का नेता सुरेन्द्र पाण्डेले रावललाई रोक्न जोड गरेका थिए। तर, संसद भवन परिसरमै रावलले राजीनामा पत्र बाचन गरे।

भोलि शुक्रबार प्रतिनिधि सभाको बैठक बस्दैछ। रावलको राजीनामा संसद सचिवालयमा दर्ता भइसकेको भए त्यसलाई संसद बैठकमा जानकारी दिनुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org