ताजा समाचार

सिंह निवासमा पौडेल पक्षको बैठक

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज छुट्टै भेला गर्न लागेका छन्।

मंगलबार दिउँसो २ बजे पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा बैठक राखिएको हो।

‘आज चाक्सीबारीमा बैठक बस्ने तयारी छ,’ सिंहनिकट स्रोतले भन्यो।

क्रियाशील सदस्यतामा देखिएका विवाद शीर्ष नेतृत्वबाट हल गर्ने भने पनि अहिलेसम्म हल भएको छैन।

बाराका कांग्रेस कार्यकर्ता पार्टी कार्यालयमा धर्ना बसेको २५ दिन भइसकेको छ।

बारा, सप्तरीलगायत जिल्लाका क्रियाशील सदस्यता टुंगिएको छैन। यसले गर्दा १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित छ। नेताहरूले अब भदौमा महाधिवेशन सम्भव छैन भन्न थालिसकेका छन्।

महाधिवेशन केन्द्रित बैठक आज पौडेल पक्षले गरेको हो। जसमा सभापति शेरबहादुर देउवानिकटबाहेक सबै केन्द्रीय सदस्यलाई बोलाइएको छ।

सोमबार पनि महामन्त्री शशांक कोइराला निवासमा युवा नेताहरूबीच छलफल भएको थियो। उक्त भेलामा समयमै महाधिवेशन गर्न नेतृत्वको खबरदारी गर्नुपर्ने आवाज उठेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org