ताजा समाचार

रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू काठमाडौंमा भेला हुने भएका छन्।

साउन २५ गते जिल्ला सभापतिहरू भेला हुने तयारी छ। एक जना जिल्ला सभापतिले महाधिवेशन अन्योलमा परेको अवस्था रहेकोले भेला गर्न लागिएको बताए।

‘महाधिवेशन अन्योलमा परेको छ। पार्टीलाई संकटबाट टार्न सुझाव दिन बैठक गर्दैछौं,’ ती सभापतिले भने, ‘समयमै महाधिवेशन गर्न दवाव दिनुपर्ने अवस्था पनि छ।’

पौडेलसहित नेताहरू बिहीबार पनि बेग्लै भेला गरेका थिए।

पौडेल पक्षले भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको कार्यसमितिलाई मान्न नसकिने चेतावनी दिँदै भदौ १६ देखि १९ मै महाधिवेशन गर्न आग्रह गरिरहेको छ।

साथै महाधिवेशन सम्भव अहिले नदेखिए विशेष महाधिवेशन गर्न पौडेल पक्षको माग छ। तर सभापति देउवाले भदौमै महाधिवेशन गर्न आफू तयार रहेको बताइरहेका छन्।

कांग्रेसमा क्रियाशील सदस्यतामा देखिएको विवाद पनि समाधान हुन सकेको छैन। कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ।

बारा, सप्तरीलगायत छ जिल्लामा क्रियाशील विवाद छ। क्रियाशील विवाद टुंग्याउन शीर्ष नेतालाई जिम्मेवारी दिए पनि अहिलेसम्म समस्या समाधान भइसकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org