ताजा समाचार

बाढीपीडितको राहतमा तीव्रता नभएकोमा प्रचण्डको असन्तुष्टि

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यसवरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरूसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर, त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरू तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरू त्यहीँ अनुसारको तीव्रताका साथ अगाडि बढेको छैन,’ प्रचण्डले भने, ‘त्यसै कारण तपाइँहरू प्रधानमन्त्रीसहित सबै नेताहरूलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्छ ।’

प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एक पटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org