ताजा समाचार

ओलीले संसदमा उठाए माओवादी लडाकु ‘क्यान्टोन्मेन्ट’ को भ्रष्टाचार

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोन्मनेटमा भएको भनिएको भ्रष्टाचार मुद्दा संसदमा उठाएका छन्।

सरकारबाट बाहिरिएपछि पहिलो पटक मंगलबार प्रमुख प्रतिपक्षी नेताका रुपमा बोल्दै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचणडसहित जोडिएको भनिएको क्यान्टोनमेन्ट भ्रष्टाचार मुद्दा उठाएका हुन्।

‘संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्यो’, उनले भने, ‘भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस्।’

ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिए। ‘ललिता निवास र मातातीर्थको जग्गाको पनि छानबिन गर्छ होला। सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला’, उनले भने।

स्मरणीय ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार मुछिएका छन्। उता मातातीर्थको सरकारी जग्गा विक्री प्रकरणमा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई मुछिएका छन्।

उनले सरकारले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गरे। ‘जनयुद्धका घाइतेहरुको उपचार सरकारले गर्छु भन्नुस्’, उनले भने, ‘यदि सरकारले सक्दैन भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पठाउनु म उपचार गर्छु।’

ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती दिए।

‘गौर हत्याकाण्डको यति समय भयो, खोइ त छानबिन गरेको?’, ओलीले सोधे, ‘लौ त छानबिन गरेर देखाउनुस्।’ गौर हत्याकाण्डमा हालको सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुछिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org