ताजा समाचार

कार्यकर्तालाई माधव नेपालको आह्वान- ओली भ्रमबाट मुक्त भएर क्रान्तिकारी धारमा समाहित हुनुहोस्

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरेका छन् । नयाँ पार्टीले मान्यता पाएपछि पहिलोपटक बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए।

‘दक्षिणपन्थी भासमा फसिसकेको, सरकार संचालनमा असफल भइसेको, एकीकृत कम्युनिष्ट पार्टी विभाजनमा अग्रसरता लिएको छ,’ उनले भने, ‘दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरि प्रतिगामी कदम चालेको मान्छेको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी धारमा समाहित हुन आग्रह गर्न चाहान्छु ।’

हजारौं कार्यकर्ता र जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न नयाँ पार्टी खोल्न ढिलाइ गरेका नेता नेपालले बताए। ‘हजारौं हजार कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो,’ उनले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित भएका कार्यकर्ताको भविष्यको चिन्ता गर्ने भएकाले हामीले तत्कालै नयाँ पार्टी खोलेनौं ।’

पछिल्लो समय त्यसको सुनिश्चित हुने गरी संवैधानिक अनुकूलता प्राप्त भएपछि नयाँ दल खोलेको बताए। ‘अहिले परिस्थितिमा परिवर्तन भयो, हाम्रा लागि मात्रै होइन, अरुका लागि पनि आवश्यक पर्‍यो,’ नेपालले भने, ‘संवैधानिक अनुकूलता प्राप्त भयो । एउटा निकास पायौं । हामीले सबै कार्यकर्तालाई सुरक्षा गर्न सक्ने भयौं ।’

नेपालले आफ्नो साथ छोडेका साथीहरूले पहिले चाँडै नयाँ पार्टी दर्ता गर्न आग्रह गर्दै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको पनि खुलासा गरे । ‘हामीलाई साथ छोडेका साथीहरुले निर्वाचन आयोगमा दर्ता गरेको पार्टी अहिले पनि आयोगमा जिउँदै छ,’ उनले भने।

कम्युनिष्ट आन्दोलनमा यस्तो हुने भन्दै उनले साथ नदिएकामा आफ्नै समूहका नेताहरूप्रति खासै गुनासो नभएको समेत बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org