ताजा समाचार

चाक्सीबारी बैठक: पौडेलले देउवालाई भेटेर कुराकानी गर्ने

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने भएका छन्।

आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकपछि नेता मिनेन्द्र रिजालले सभापति देउवालाई वरिष्ठ नेताले भेट्ने समय लिएको जानकारी दिए।

‘क्रियाशील सदस्यतामा केही व्यवहारिक कठिनाइ आएका छन्। त्यसलाई समाधान गरेर जानुपर्छ,’ रिजालले भने, ‘जिल्ला सभापतिजीहरू पनि अनसनमा बस्नुभएको छ। उहाँहरूले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ, यसबारे कुरा गर्न वरिष्ठ नेताले सभापतिसँग समय लिनुभएको छ। आजै उहाँहरूबीच भेटेर कुराकानी हुन्छ।’

३८ जिल्लाका क्रियाशील सदस्यको नाम वेबसाइटमा राखे पनि बाँकी ३९ जिल्लाको विवरण पनि राखिनुपर्ने उनी बताउँछन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशीलबारे टुंग्याएका विषय कार्यान्वयनमा आइसकेका छैनन्।

‘हामीले टुंग्याएका विषय कार्यान्वयनमा आइसकेको छैन त्यसैले पनि बाँकी जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशन भएको छैन,’ उनले भने, ‘सबै समस्या समाधान गरेर अधिवेशन प्रक्रियामा सहभागी हुने बाटो खोजि गर्ने नै आजको बैठकको निष्कर्ष हो।’

आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीहरू रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत नेता सहभागी थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org