ताजा समाचार

ओलीसँग मिलेर जान सकिँदैन भन्ने थाहा थियो, तर पनि एकता गर्नुपर्‍यो : लिलामणि पोखरेल

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेकपा (एमाले) सँग लामो समय मिलेर बस्न सकिँदैन भन्ने थाहा हुँदाहुँदै पार्टी एकता गर्नुपरेको बताएका छन् ।

एमालेसँगको एकता दीर्घकालीन सोचले नभइ रणनीतिक योजना अन्तर्गत भएको उनको भनाइ थियो ।

बिहीबार भक्तपुरमा भएको एक कार्यक्रममा पोखरेलले एमालेसँगको एकता अल्पकालीन सम्झौता भएको उल्लेख गरे ।

केपी ओली यथास्थितिवादी र प्रतिगामी भएको थाहा हुँदाहुँदै उनी नै एमालेका अध्यक्ष भएको र उनीबिनाको एकता सम्भव नभएकाले ओलीलाई नेता मान्नुपरेको पोखरेलको प्रष्टोक्ति थियो ।

‘ओलीसँग लामो समय सँगै जान सकिँदैन भन्ने थाहा थियो,’ उनले भने, ‘परिवर्तनको रक्षा र संविधानको कार्वान्वयन गर्न एमालेभित्रका क्रान्तिकारीहरूको साथको आवश्यकताले पार्टी एकता अपरिहार्य थियो ।’ ओलीको प्रवृत्तिका बारेमा एमालेका नेता-कार्यकर्तालाई बुझाउनका लागि पनि पार्टी एकता गर्नुपरेको उनले बताए ।

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको पोखरेलले बचाउ गरे । एमाले फुटाउनका लागि नभइ ओलीको प्रतिगमन र निरंकुशताबाट देशलाई बचाउन र संविधानको रक्षा गर्न अध्यादेश ल्याइएको उनको जिकिर थियो ।

‘हतियारले अर्कालाई हान्दै हिँडे त्यो नाशक हुन्छ । आत्मसुरक्षाको लागि प्रयोग गरे त्यो रक्षक बन्छ,’ पोखरेलले भने, ‘अहिलेको अध्यादेश नाशक होइन, रक्षक हो ।’ एमसीसीबारे आफूहरूको अडान यथावत रहेको भन्दै पोखरेलले देशलाई घात हुनेगरी पास हुन नदिने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेताहरू दिलिप प्रजापति, डीपी ढकाल, कृष्णलाल गोजा, विजय श्रेष्ठलगायतको उपस्थिति थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org