ताजा समाचार

पुँजी बजारमा देखिएका समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण जनाएको छ ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

शेयर लगानीकर्ताहरुले गलत नीति बनाएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको भन्दै लगानीकर्ताहरु रुष्ट बनेका छन् ।

राष्ट्र बैंकले एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै शेयर धितोमा ऋण लिन सक्ने नियम बनाएको छ । यसअघि यस्तो सीमा तोकिएको थिएन ।अहिले करोडौं रकमको शेयर भएपनि त्यो धितोमा राखेर जम्मा १२ करोड रुपैयाँमात्रै ऋण लिन सकिन्छ।

यो व्यवस्थापछि लगातार शेयर बजार घटिरहेको छ । बजारमा निकै ठूलो नकारात्मक असर पार्ने निर्णय गरेको भन्दै लगानीकर्ताहरुले पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org