ताजा समाचार

मादीमा एकै परिवारका ६ जनाको हत्या प्रकरण: दुवै छोराहरु वैदेशिक रोजगारीमा

काठमाडाैँ । संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको छ।

प्रहरी निरीक्षक नेतृत्वको टोली मादी नगरपालिका–१ उम्लिङ्ग खोला खर्क पुगेको हो। सोमबार बिहान तेजबहादुर कार्कीको परिवारका ६ जना सदस्यहरु हत्या गरिएको अवस्थामा फेला परेका थिए। परिवारमा रहेका ७ जनामध्ये ९० वर्षीय बौद्धमान कार्की मात्र जीवित छन्।

मृत्यु हुनेमा बौद्धमानकी श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी (तेजबहादुरकी श्रीमती) कमला कार्की रहेका छन् । यस्तै तेजबहादुरकी जेठी बुहारी रञ्जना कार्की तथा नाति दीपेन र नातिनी गोमा कार्कीको पनि हत्या भएको हो । मृतकमध्ये पार्वतीको शव घरभित्र भेटिएको छ।

सासु बुहारीको शव खोल्सामा रहेको र नातिनी नातिनाको शव पाखामा रहेको वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए। तेजबहादुरको शव भने घर अगाडि रहेको सडकमा करिब सय मिटरको दूरीमा रहेको बताइएको छ।

तेजबहादुरका दुवै छोरा वैदेशिक रोजगारीका लागि कतार र मलेसियामा छन् भने दुवै छोरीको विवाह भइसकेको जनाइएको छ। कान्छी बुहारी झापामा छिन्।

वडाध्यक्ष कटुवालले तेजबहादुरको परिवार गाउँमा खेति किसानी गरेर जिविको चलाउँदै आएको बताए। ‘ बृद्ध बौद्धमानले गाउँघरमा कोहीसँग रिसिइबी नरहेको बताएका छन्’, कटुवालले भने। प्रहरीसँगको प्रारम्भिक सोधपुछमा बौद्धमानले आफू साँझ ६ बजे खाना खाएर सुतेको र एकैपटक बिहान मात्र उठेको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org