ताजा समाचार

एमालेले संसदमा आज पनि अवरोध गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन् ।

तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।

शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो ।

बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । वेलमा जाने र तोकिएको नारा मात्र लगाउने पार्टीको निर्धारित कार्यक्रम रहेको भन्दै उनले भने, ‘म माननीयजीहरुलाई आग्रह गर्न चाहन्छु, संसदीय मर्यादाभित्र तोकिएका नाराहरु छन् । त्योभन्दा फाल्तु नारा हामी लगाउँदैनौं ।’

उनले अघि भने, ‘हामी वेलमा जान्छौं । नारा लगाउँछौं । सामान्य अवस्था आयो भने विस्तारै नारा लगाउने, अलिकति बढी एग्रेसिभ भएर सभामुख वा सत्तापक्ष आउँदा चर्को आवाजमा लगाउने हुनसक्छ । तर हामीले नारा लगाउने र वेलमा जाने भन्दा बाहिर जानु हुँदैन ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org