ताजा समाचार

अर्ली इलेक्सनबारे प्रधानमन्त्रीले भने– मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ’

काठमाडाैँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी वैशाखमा अर्ली इलेक्सन गर्नेबारे गठबन्धनका नेताहरूसँग परामर्श गर्ने बताएका छन् । उनले गठबन्धन सरकार भएका बेला अर्ली इलेक्सनबारे आफू एक्लैले भनेर केही नहुने बताए ।

धनगढीमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा देउवाले भने ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम सरकार फेरबदलबारे पनि केन्द्रमा गठबन्धनबीच सहमति गरेर निर्णय लिइने उनले बताए । ‘यसबारे सल्लाह गरौँला माथि अब के हुन्छ’, पत्रकारको जिज्ञासामा देउवाले भने ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले नेपालमा एमसीसीबारे गलत प्रचार गरिएको जिकिर गरे । एमसीसी सम्झौता संसदबाट पास गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले गलत प्रचार रोक्नुपर्ने बताए ।

देउवाले एमसीसी नेपालको कानुनभन्दा तलै रहने कुरा अमेरिकाले प्रष्ट पारिसकेको दाबी पनि गरे । एमसीसी के हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, ‘पास गर्ने हो ।’

हुबहु पास हुन्छ कि संशोधन हुन्छ भन्ने जिज्ञासामा देउवाले भने, ‘यसमा केही छँदै छैन भने, एमसीसी नेपालको कानुनभन्दा माथि हैन भनेर उनीहरूले भनिसकेका छन् । यो त अनुदान हो ऋण हैन नी । सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्छन् यहाँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org