ताजा समाचार

बाढीपहिरो पीडितका लागि विशेष प्याकेज घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

सुनसरी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने जानकारी दिएका छन् ।आइतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको उल्लेख गरे । खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले भने,‘अहिलेको अवस्था बुझेको छु, काठमाडौं गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौं, साधन स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरुलाई सहयोग जुटाउँछौँ, बाढीपहिरोले धेरै नोक्शान गरेको छ, हामी पीडितलाई ऋण लिएर भएपनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेर्छौं, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो, अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’

प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंसा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org