ताजा समाचार

अर्थमन्त्रीको आश्वासन- सेयर बजारको समस्यामा गम्भीर छौं, विज्ञसँग छलफल जारी छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् ।
बीमा समितको भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले सेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने र त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए ।

उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको बताएका छन् । सेयर बजारमा देखिएको समस्या समाधानका लागि विज्ञहरूसँग छलफल भइरहेको मन्त्री शर्माको भनाइ छ ।

लगानीकर्ताले अनावश्यकरूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको भन्दै उनले लगानीकर्तालाई ढुक्क हुन आश्वस्त पारे ।

अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे । ‘तपाईंलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नुहोला’, शर्माले भने, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घाटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org