ताजा समाचार

रक्षा सचिव शर्मा जंगी अड्डामा

काठमाडाैँ । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।

जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा जानकारी गराइएको थियो ।

कार्यक्रम पूर्व सचिव शर्माले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए । सचिव शर्मा यसअघि वाग्मती प्रदेश सरकारका प्रमुख सचिव थिए ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज पौड्यालले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको स्थानमा शर्माको सरुवासहित नियुक्त भएको हो । गत ३१ असारमा सचिव बढुवा भएका शर्मा २०६९ सालमा सहसचिवमा नियुक्त भएका थिए ।

सूचना विभागको महानिर्देशक रहिसकेका शर्मा २०५१ सालमा लेखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । निजामतिमा आउनुअघि नेपाल राष्ट्र बैंक र त्यसअघि राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका शर्मा २०५९ सालमा प्रशासनतर्फ उपसचिव भएका थिए ।

जनप्रशासन र व्यापार प्रशासन गरी दुई विधामा स्नातकोत्तर गरेका शर्मा पर्वत निवासी हुन् । उनी व्यवसायिक र अध्ययनशील अधिकारीका रुपमा मानिएका अधिकारी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org