ताजा समाचार

‘एक्लै लड्दा कसैको बहुमत आउँदैन, सत्ता गठबन्धनसँग मिलेर कांग्रेस चुनावमा जान्छ’

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चार दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म यथावत रहने बताएका छन्।

पर्साको वीरगञ्जमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरणपछि सम्बोधनका क्रममा उनले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै रहने बताएका हुन्।

देउवाले एक्ला एक्लै निर्वाचनमा जाँदा कसैको पनि बहुमत आउन नसक्ने पनि जिकिर गरे। त्यही कारण तीनै तहको निर्वाचनमा कांग्रेसले गठबन्धन दलसँग मिलेर लड्ने पनि उनले बताए।

‘अहिलेको राजनीतिक परिस्थितिमा एक्ला एक्लै निर्वाचनमा जाँदा कसैले पनि बहुमत ल्याउन सक्दैनन्, ’ उनले भने,  ‘आगामी निर्वाचनमा गठबन्धनका दलसँग तालमेल गरेर कांग्रेसले प्रतिस्पर्धा गर्छ।’

सम्बोधनका क्रममा देउवाले गठबन्धनका सदस्य दलहरूको मन दुख्ने टिप्पणी नगर्न पनि नेताहरुलाई आग्रह गरे।

‘गठबन्धनका सदस्य दलहरूलाई चिढ्याउने काम गर्नु ठीक होइन’, उनले भने, ‘संविधानको रक्षा र लोकतन्त्र संस्थागत गर्न गठबन्धन दलहरूको सहकार्य र एकता अझै चाहिएको छ। यसलाई निर्वाचनसम्म लैजानुपर्छ।’

सम्बोधनका क्रममा देउवाले फागुन १५ गते संसदबाट पारित अमेरिकी सहायता सम्झौता एमसीसीको बचाऊ गरे। कांग्रेस सभापतिसमेत रहेका उनले अमेरिकाले अनुदानस्वरुप दिएको विकास सहयोगको विरोध गर्नुको कुनै अर्थ नहुने पनि बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org