ताजा समाचार

आयोगलाई ओलीको प्रश्न- केन्द्र र प्रदेशमा राजीनामा गर्नु नपर्ने, स्थानीय तहमा किन गर्नुपर्ने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा चुनाव लड्न बहालवाला जनप्रतिनिधिहरुले पहिल्यै राजीनामा दिनुपर्ने मापदण्डमा आपत्ति जनाएका छन् ।

कार्यकारणी पदमा रिक्तता पैदा गर्ने गरी आयोगले बनाएको आचारसंहिता दुराशयपूर्ण रहेको उनले आरोप लगाए ।

भर्खरै सुरू भएको एमालेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओली निर्वाचन आयोगप्रति आक्रामक बनेका हुन् । मनोनयनका लागि दुई दिन समय दिएको र निर्वाचनको मत पत्रको रंग बदलेको विषयमा पनि उनले विरोध जनाए ।

उनले भने, ‘मनोनयनसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्छ भन्ने कुरा कुनै पनि हिसाबले औचित्यपूर्ण छैन । कार्यकारिणी पद रिक्त राखेर जनताको सेवा गर्न सकिँदैन ।’

स्थानीय तहलाई पनि सरकारकै रुपमा हेरिएको भन्दै ओलीले केन्द्रमा र प्रदेशमा राजीनामा गर्नु नपर्ने तर, स्थानीय तहमा राजीनामा गर्नुपर्ने किन भन्दै ओलीले प्रश्न उठाए । दलहरुसँग परामर्श नगरी आयोगले यस्तो निर्णय गर्न नसक्ने उनको भनाइ छ ।

‘केन्द्र र प्रदेशमा गठबन्धनको वर्चश्व छ । तर, स्थानीय तहमा छैन । तर, गठवन्धनको वर्चश्व नभएका ठाउँ चाँडै खालि गरिदिउँ भनेर राजीनामाको शर्त राखिएको हो ?’ ओलीले प्रश्न गरे ।

उनले निर्वाचन आयोगको क्रियाकलाप एमालेविरुद्ध रहेको दाबी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org