ताजा समाचार

जनसाहित्यिक संघको अध्यक्षमा राम विनय महासचिवमा सिलवाल

काठमाडाैँ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालनिकट राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको आज सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले साहित्यकार राम विनयको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

सङ्घको उपाध्यक्षमा रमेश पोखरेल र नर्मदेश्वरी सत्याल, महासचिवमा प्रकाश सिलवाल, सचिवमा नवराज रिजाल र कोषाध्यक्षमा गायत्री लम्साल चयन हुनुभएको छ । बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष डा जीवेन्द्रदेव गिरीले पदाधिकारीसहित केन्द्रीय सदस्यको नामावली प्रस्ताव गरेका थिए । सङ्घको विधानमा १२५ सदस्यीय केन्द्रीय समिति रहेकामा रिक्त सदस्य पछि पूर्ति गरिने जनाइएको छ ।

सांस्कृतिक रुपान्तरणको अभियानसहित प्रगतिशील साहित्यका क्षेत्रमा क्रियाशील सो सङ्घको अधिवेशनमा निवर्तमान कार्यसमितिका महासचिव गोपालकुमार मैनाली, कोषाध्यक्ष यशोदा अधिकारीबाट प्रस्तुत साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा विधान संशोधन समितिका तर्फबाट अधिवक्ता प्रेमराज सिलवालबाट प्रस्तुत मस्यौदा सुझावसहित पारित भएको थियो । साथै बन्दसत्रले १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

महासङ्घको मातहतमा जनसाहित्य सङ्घसहित विभिन्न सात घटकको अधिवेशन एकैपटक भइरहेको छ । महासङ्घको आठौँ महाधिवेशन र घटक संस्थाको अधिवेशनको उद्घाटन शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट भएको थियो । महासङ्घको नयाँ नेतृत्व चयन आइतबार चयन हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org