ताजा समाचार

चुनावी तालमेलबारे थप निर्णय लिन गठबन्धन बैठक बोलाइयो

काठमाडाैँ । पाँचदलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’ बारे थप निर्णय गर्न लागेको छ । तालमेलबारे सैध्दान्तिक निर्णय गरिसकेका गठबन्धनमा आवध्द दलका शीर्ष नेता थप रणनीति बनाउन अहिले बैठक बस्न लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न आज बैठक बस्ने भएको हो । गठबन्धनको एउटा घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकको मिति तय भए पनि समय तय हुन बाँकी रहेको बताइन् ।

१७ चैतमा निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल शुरू भएको छ । तर,गठबन्धनको नेतृत्व दल कांग्रेसभित्रको एउटा खेमा असन्तुष्ट हुँदा केन्द्रीय निर्णय सबैतिर लागू हुन सकेको छैन ।

काँग्रेस नेता डा. शेखर कोइराला पक्षले एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ । कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्षबाट निरन्तर गठबन्धनविरोधी अभिव्यक्ति आएपछि माओवादीसहित अन्य घटक सन्तुष्ट छैनन् ।

नेता वर्षमान पुनले माओवादी–एमालेबीच तालमेलबारे छलफल भइरहेको बताइसकेका छन् । तैपनि गठबन्धनलाई थप मजबुत बनाएर लाने गठबन्धनका शीर्ष नेताहरूले बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org