ताजा समाचार

प्रचण्डको दौडधुप : १३ दिनमा तीन पटक चितवनमा, आज भूमिहीनलाई लालपुर्जा वितरण गर्ने

चितवन । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार गृह जिल्ला चितवन आउँदै छन् । पछिल्लो १३ दिनको अवधिमा प्रचण्ड तेस्रो पटक गृह जिल्ला आउन लागेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा गृह जिल्लामा उनको आगमन बढेको मात्रै छैन, योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा उनलाई भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका-२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन आउँदै छन् ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने घोषणा गरेपछि प्रचण्ड १० चैतमा पहिलो पटक चितवन आए । भरतपुर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका थिए ।

प्रचण्ड १० चैतमा आफ्नो निर्वाचन क्षेत्रका पाँच कार्यक्रममा सहभागी भए । चितवन आएकै दिन माडी पुगेका उनले माडी-२ मा निर्माण सम्पन्न भएको चिरौली सडकको उद्घाटन गरे । त्यसपछि माडीकै परुई खोलाको पुल र कुसुमखोलाका चेपाङ समुदायलाई निर्माण गरिदिएको चेपाङ नमुना वस्तीको उद्घाटन गरे ।

माडीका सहिद निलकण्ठ सुवेदीको घरमा उनले खाना खाए । उनले माडीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रशिक्षण दिए भने केहीलाई पार्टी प्रवेश पनि गराए । त्यसपछि उनले भरतपुर शारदानगरमा आयोजित महिला फुटबल लिगको उद्घाटन गरे ।

यहाँ उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब सरकारको दायित्वभित्र आएको भन्दै रंगशालाको काम अघि बढाउन आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यसदिन प्रचण्ड भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको निवासमा बास बसे ।

भोलिपल्ट ११ चैत मा भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास गरे । ९४ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको उद्घाटनका क्रममा उनले महानगरमा धेरै विकास भएको बताए । विकासका हिसाबले भरतपुर महानगरलाई विदेशीले समेत विशिष्ट महानगरको रुपमा चित्रण गरेको उनले दाबी गरे ।

सोही दिन माओवादी केन्द्र जिल्ला समन्वय समितिको प्रथम विस्तारित बैठकलाई उनले सम्बोधन गरे । दुई दिन विभिन्न कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका प्रचण्ड १६ चैत माा पुनः चितवन आए ।

उनले  पूर्वी चितवनको राप्तीमा निर्माण गरिएको विद्युत सबस्टेशनको उद्घाटन गरे ।

त्यसपछि उनले संघीय सरकारको बजेटमा बनाउन लागिएको नारायणी तटबन्धको शिलान्यास गरे । झण्डै पाँच अर्ब लागतमा बन्न लागेको २३ किमी तटबन्धको प्रचण्डले भरतपुर–२६ स्थित शिसुवारमा शिलान्यास गरेका हुन् ।

त्यस्तै, उनले महानगरको रिङरोड अन्तर्गतको पश्चिम खण्डको सडकको शिलान्यास गरे । पटिहानीमा निर्माण गरिएको बहुउद्देश्यिय कबर्ड हलको पनि उनले उद्घाटन गरे । माओवादी केन्द्रले १६ चैतदेखि ‘गाउँ नगर घर–घर जाउँ, माओवादी केन्द्र जिताउँ’ को नारा लिएर ९८ वटै वडामा चुनावी प्रचारप्रसार थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org