ताजा समाचार

गठबन्धन नगर्नुस् भनेको छु, नत्र अप्ठेरो हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आउँदो चुनावमा अन्य दलहरूसँग गठबन्धन भए अप्ठेरो हुने बताएका छन् । बुधबार बिहान विराटनगर विमानस्थलमा सञ्‍चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता कोइरालाले केन्द्रीय समितिको बैठकले ‘तालमेल गर्न सकिनेछ’ भन्‍ने मात्रै निर्णय गरेकाले आवश्यकता र औचित्यका आधारमा जिल्ला र क्षेत्रलाई त्यसको अधिकार दिनुपर्ने बताए ।

‘हामीहरूले गठबन्धन गर्नु हुँदैन नेपाली कांग्रेस एक्लै लड्नुपर्छ भनेर भन्यौं, हामीहरू त प्रतिशतको हिसाबले धेरै कम छौँ केन्द्रीय समितिमा’ कोइरालाले भने, ‘गठबन्धन नै गरेपछि तालमेल गर्ने भनेको छ, कन्फ्युजन नहुनुहोस्, आवश्यकता र औचित्यताको आधारमा तालमेल गर्ने भनेको छ, नेपाली कांग्रेसका कार्यकर्ताहरूले फेरि विरोध गरे भने त अप्ठेरो हुन्छ नि त, त्यसले सत्ता गठबन्धनलाई पनि त अप्ठेरो पार्छ ।’

उनले जबरजस्ती गठबन्धन गरिए त्यसको जवाफ आफुले दिन नसक्ने बताए । कोइरालाले केन्द्रीय समितिको निर्णय भन्दा आफुले अलिकति पनि दायाँबायाँ नगर्ने स्पष्ट पारे । केन्द्रबाटै उम्मेद्‍वार पनि टुंगो लगाउन खोजिए देशव्यापी विरोध हुने चेतावनी दिए । कोइरालाले कांग्रेसले माओवादीलाई होइन कांग्रेसलाई जिताउँ भन्ने अभियान चलाउने बताए ।

‘घरघर जाउँ माओवादीलाई हैन नेपाली कांग्रेसलाई जिताउँ भन्ने अभियान हो हाम्रो’ उनले भने, ‘भागबण्डाको राजनीति हामीले गर्नु हुँदैन, गर्दिन भनेर देउवाले भनिराख्नु भएको छ, सभापतिजीले पनि सवैलाई मिलाएर न्यायोचित ढंगले हिड्न सक्नुपर्नेहुन्छ, पेलेर पार्टी चल्दैन ।’

गठबन्धन दल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले केहिदिन अघि कोइरालालाई लक्षित गर्दै गठबन्धन नचाहनेलाई एक्लै चुनाव लड्न दिनुपर्ने र हैसियत थाहा हुने भन्‍ने अभिव्यक्तिको प्रसंगमा उनले अरु पार्टीले के भन्दैछन् भन्नेतिर आफ्नो ध्यान नभएको बताए ।

‘माधव नेपालले के भन्नु भयो भन्ने सरोकारको बिषय होइन, कांग्रेसले के भन्दैछ भन्ने मुख्य कुरा हो’ उनले भने, ‘नेपाली कांग्रेसको केन्द्रीय समितिले के निर्णय गरेको छ त्यो महत्वपूर्ण कुरा हो ।’ उनले ताममेलकै लागि भनेर केन्द्रीय तहमा संयन्त्र बन्नु ठिकै रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org