ताजा समाचार

वैवाहिक अंगिकृतमा ७ वर्षे प्रावधान राख्ने प्रस्ताव मेरो होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैवाहिक अंगिकृत नागरिकताका लागि ७ वर्षे प्रावधान राख्ने प्रस्ताव आफ्नै भएको दाबी गरेका छन् ।

सोमबार पार्टीको एक कार्यक्रममा बोल्दै प्रचण्डले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफैले ७ वर्षे प्रावधानको विषयमा बहुमतबाट निर्णय गराउँदा पनि ओलीका कारण विधेयक पेश हुन नसकेको दाबी गरेका हुन् । उनले भने ‘राज्य व्यवस्थामा शशी श्रेष्ठ सभापति भएको बेला वैवाहिक अंगीकृतको सवालमा ७ वर्षे प्रावधान राख्नुपर्छ भनेर जोड गरेको हामीले हो ।’

उनले अघि भने, ‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ ।’ त्यसबेला तत्कालीन एमालेबाट आएका नेताहरु समेत विभाजित देखिएको भन्दै उनले भने, ‘केही हाम्रो पक्षमा आए, केही रिजर्ब बसे । कांग्रेस र अन्य (दल) सहमति भएनन् । सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं । त्यो माओादी केन्द्रले जोड गरेर राखेको प्रावधान हो, अरुले होइन ।’

उनले ७ वर्ष समयसीमा राख्ने अडान छाडेर नागरिकता विधेयक ल्याउन माओवादी किन तयार भयो भन्ने स्पष्टीकरण समेत दिएका छन् ।

७ वर्षे समयसीमाबारे सत्तारुढ गठबन्धनमा सहमति नभएको र त्यही कारण विधेयक नआउँदा नेपाली आमाबाबुबाट जन्मिएका ६/७ लाख नागरिकले नागरिकता नपाउने स्थिति बनेको उनले बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘यदि त्यसो नगर्ने (विधेयक नल्याउने) हो भने ६/७ लाखले नागरिकता नपाउने, भए, जागिर खान नपाउने भए, विदेश नजान नपाउने भए । उनीहरुको हितलाई प्राथमिकता दियौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org