ताजा समाचार

बाग्मती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री विश्वासको मत लिने प्रयासमा

काठमाडौं । बाग्मती प्रदेशसभाको बैठक आज (शुक्रबार ) पनि बस्दै छ । यसअघि बुधबार बैठक बोलाइएको थियो । तर त्यो दिन कांग्रेसका सांसद अनुपस्थित भएका कारण बैठक बस्न सकेन । सत्ता साझेदारीका विषयमा असन्तुष्ट कांग्रेस सांसदहरुले बैठकमा उपस्थित नहुने भनेपछि बैठक आज शुक्रबारका लागि सारिएको थियो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

बागमती प्रदेश सभामा ११० जना सांसद छन् । विश्वासको मतका लागि ५६ जना सांसदले साथ दिनुपर्छ । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । यसैगरी नेकपा एमालेका २७, राप्रपाका १३, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

प्रदेश सभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्रका नेता जम्कट्टेल गत पुस २५ गते कांग्रेस, एमाले, राप्रपासहित ६ दलका १०५ सांसदको समर्थन पाएर मुख्यमन्त्री नियुक्त भएका थिए । उनले माघ ३ गते विश्वासको मतसमेत लिएका थिए । त्यतिबेला दिएको समर्थन राप्रपाले फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org