ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा ‘मण्डला चित्र’ अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडले ‘मण्डला चित्रकला’ समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेण्डर सार्वजनिक गर्नुभएको हो ।

ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ । बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताउनुभयो । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आगामी दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्दन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको जनाउनु भयो ।

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पार्नुभएको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले प्रष्ट पार्नु भयो । नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उहाँको भनाइ रहेको थियो ।

‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो’, कार्यकारी अधिकृत बज्राचार्यले भन्नुभयो,‘ यसबाट चित्रकला क्षेत्रको विकास  हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।’ कार्यक्रममा कलाकारद्वयले मण्डला चित्रकलालाई क्यालेण्डरका निमित्त छनोट गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org