ताजा समाचार

सबै पालिकाका न्यायिक समितिका प्रतिनिधि काठमाडौंमा

काठमाडौं । काठमाडौंमा न्यायिक समिति राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा आज र भोलि सम्मेलन हुन लागेको जनाइएको छ ।

सम्मेलनमा काठमाडौं महानगरसहित ७ सय ५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक–एक जना प्रतिनिधि सहभागी हुँदैछन् । काठमाण्डौ महानगरकी उपमेयर एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । सम्मेलनले सबै पालिकाको न्यायिक समितिका कामलाई एकरुपता दिने लक्ष्य लिएको छ ।

सम्मेलनको दोस्रो दिन भोलि विवाद निरुपण काठमाण्डौ घोषणापत्र जारी हुनेछ । सम्मेलनमा ४ वटा मुख्य कार्यपत्रमा प्रस्तुति हुनेछ । पहिलो कार्यपत्र न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन विषयमा हुनेछ । सम्मेलनको दोस्रो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रियाका विषयमा प्रस्तुति गर्नुहुनेछ ।

तेस्रो विषय स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्द्धन विषयमा हुनेछ । चौथो प्रस्तुति न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य पालना गर्नुपर्ने प्रक्रिया सम्बन्धी हुनेछ । सम्मेलनमा न्यायिक सञ्जाल गठन गर्ने कार्यक्रम पनि रहेको छ । न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने उपमेयर डंगोलले बताउनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org