ताजा समाचार

नवीन सोच देशको सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य हुने बताउनुभएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक रुपान्तरणका लागि नयाँ सोच जरुरी रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘मैले विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुवीकरण र प्रक्रियाका निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’

उहाँले हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढङ्गले विकास गर्ने व्यक्तित्वलाई आफूले सधैँ उच्च मूल्याङ्कन गर्ने गरेको बताउनुभयो । ‘मानव समाजको विकास पनि नवीन सोचको खोजीका क्रममा भएको हो । मानव र अरू प्राणीबीचको अन्तर पनि विचारको निरन्तर विकासको प्रक्रियासँग सम्बन्धित छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले २१औँ शताब्दीमा विज्ञानको विकाससँग हामीले हाम्रा सोचहरुलाई अझ नवीन र तीव्रताका साथ बनाउँदै लैजाने र त्यसले आफ्नो कर्मलाई अझ प्रभावकारी बनाउँदै लैजान केन्द्रित हुनु पर्दछ । मलाई विश्वास छ, तपाइँहरुले यो प्रतिभा डबली कार्यक्रमबाट यस्तो सृजनात्मक नवीन सोचलाई प्रोत्साहन गर्न आ–आफ्नो ठाउँबाट चिन्तनमनन गरिराख्नुभएको छ ।’

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमीक्षा गर्ने विधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसका लागि आफैँभित्र सबैभन्दा पहिला सुशासन सुरुआत गर्नुपर्दछ ।’

प्रधानमन्त्री दाहालले नेपालमा कर्मचारीभित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी सरकारका रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभाव पार्ने बताउनुभयो ।

कर्मचारीतन्त्र भित्रबाट पनि नवीन सोचका साथ सृजनात्मक ढङ्गले आफ्नो काम अझ प्रभावकारी तवरले गर्दै परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले जुनसुकै क्षेत्रको पनि विकास र प्रगति सही विचारबाट नै हुने भएकाले त्यसमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कार्यक्रमको उपादेयताका बारेमा जानकारी गराउँदै यसलाई निरन्तर अगाडि बढाउनुपर्ने बताउनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org