ताजा समाचार

मेयर बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले मेयर बालेन शाहका पछिल्ला गतिविधिप्रति असहमति जनाउँदै राजीनामा दिएकी छन् ।

गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो । उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर शाहले लिएका निर्णय आफ्नो मुल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न भएकाले राजीनामा दिएको उनले बताएकी छिन् ।

भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका संवादलाई कारण देखाउँदै शाहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।

अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि संलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।

उनले महानगरको शिक्षा सल्लाहकार रहँदा आफूले सकेको काम गरेको भन्दै उनले सार्वजनिक शिक्षाकै क्षेत्रमा आफूले काम गर्ने बताएकी छिन् ।

कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी र सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र ५ वर्ष अध्यक्ष भएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org