ताजा समाचार

एमाले सबै प्रदेश सरकारबाट बाहिरियो, कोशी प्रदेशमा अब के होला ?

काठमाडौं । मंसिर ४ को चुनावपछि कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसहितको समीकरण बनाउँदा ७ मध्ये ४ वटा प्रदेश सरकारको नेतृत्व गरेको एमाले अहिले सबै प्रदेशबाट बाहिरिएको छ ।

एमाले नेतृत्वको ७ दलीय गठबन्धन दुई महिना नपुग्दै भत्किएसँगै एमाले संघदेखि प्रदेशसम्म सरकारबाट बढारिएको हो । पुस १० गते बनेको सातदलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनमा आइपुग्दा टुटेको थियो । एमालेको प्रस्तावित व्यक्तिलाई राष्ट्रपति मान्न नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावअघिकै कांग्रेस नेतृत्वको गठबन्धन ब्यूँताएपछि एमाले सरकारबाट बाहिरिने क्रम सुरू भयो ।

आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । कार्कीले २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए ।

९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा एसका ४ प्रदेशसभा सदस्यले मत हालेका छन् । गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

यसअघि वैशाख ११ गते लुम्बिनीको लीला गिरी नेतृत्वको सरकार ढल्यो । त्यहाँ अहिले माओवादीसहित कांग्रेस नेतृत्वको गठबन्धनबाट कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बनेका छन् । यस्तै, गण्डकीमा पनि बैशाख १० गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो । त्यहाँ अहिले कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।

माघ २६ मा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सुरुआतदेखि नै मधेशमा जसपा नेतृत्वको सरकार कायमै रहँदा बागमती र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org