ताजा समाचार

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । नवौँ नम्बरमा ब्याटिङका लागि आएका सोमपाल कामीले अर्धशतक बनाएपछि ब्याटिङमा संघर्षरत देखिएको नेपाली टिमले एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सामु १८० रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटियो ।

नेपालका सोमपाल कामीले ७५ रन बनाए । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । ७२–८ को नाजुक अवस्थामा रहेको नेपाली इनिङलाई सोमपालले प्रतिश जिसीसँग अर्धशतकीय साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए । सोमपालले प्रतिशसँग नवौँ विकेटका लागि ५८ रनको साझेदारी गरे ।

प्रतिशले टिमको खातामा २६ थपे । यस्तै, सोमपालले १३०–९ को अवस्थामा रहँदा ललित राजवंशीसँग ४९ रनको साझेदारी गर्दै नेपालको इनिङलाई १७९ सम्म पुर्‍याए। अविजित रहेका ललितले एक रन बनाए ।

सुरुआतदेखि नै धरासायी बनेको नेपाली इनिङ्समा कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७ रन जोडे । त्यस्तै, गुल्सन झाले १३ र ओपनर आसिफ शेखले १२ रन बनाए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले चार, कुशल भुर्तेल र पवन सर्राफ समान एक रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।

पाकिस्तानका साहनवाज दाहानीले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका दाहानीले तीन मेडन राख्दै ३८ रन खर्चिए । मोहम्मद वसिमले समान चार र मुबासिर खानले एक विकेट लिए ।

प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्नेछ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org