ताजा समाचार

सुन तस्करीसम्बन्धी अनुसन्धानलाई तीव्र बनाउँदै सरकार, घर तथा गोदाममा छापा

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रेडी ट्रेडर्स प्रालिको अर्को गोदाममा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । बुधबार विभागको टोलीले काठमाडौं महानगरपालिका-१६ स्थित सोह्रखुट्टेको एक घरमा छापा मारेको हो । गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद भएको छ । ती वस्तुमा सुन छ कि छैन भन्ने यकिन भइसकेको छैन । ‘२ साउन अघि विभिन्न मितिमा उक्त कम्पनीले आयात गरेको ठूलो परिमाणको ‘ब्रेक शु’ बरामद भएको छ,’ विभाग स्रोतले केही सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

यसैबीच,राजश्व अनुसन्धान विभागले विवादास्पद व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा पनि छापा मारेको छ । गत साता बाहिरिएको एक क्विन्टल सुन काण्डमा मुछिएका राकेशको घरमा टोली बुधवार एकाएक छापा मार्न पुगेको हो ।

विभागले उक्त तस्करी प्रकरणको अनुसन्धानका क्रममा उनको घरमा छापा मारेको बताएको छ । अडुकियाले पछिल्लो छ महिनामा गरेको हङकङ,दुबई,नयाँ दिल्ली र बैंककतिरको शंकास्पद यात्रा गरेको जनाइएको छ ।

छापा मारिएको रेडी ट्रेडर्स प्रालि कसले सञ्चालन गरेको हो र राकेश अडुकियाको व्यापारिक संस्थाको सम्बन्धमा भने प्रष्ट विवरण खुल्न बाँकी छ ।

यस्तै प्राप्त समाचारअनुसार सोही काण्डमा समातिएका एक जना चिनियाँको अर्को सेल्टरमा पनि प्रहरीले छापा मारेको छ । ठमेलस्थित एक होटलमा बस्दै आएका उनको कोठामा र अडुकियाको घरमा राजश्वको टोली एकै समय पुगेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org