ताजा समाचार

ल्हारक्याल लामाको नियुक्ति सरकारको गम्भीर गल्ती, कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन्।

सोमबार नयाँबाानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकमीसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको बताए। उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउँदै निर्णयको स्वामित्व कांग्रेसले नलिने राय व्यक्त गरे।

सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उनको भनाइ थियो। सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफुले ध्यानाकर्षण गराएको जानकारी उनले दिए। लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्दैगर्दा सम्बन्धित व्यक्तिको छविको विषयमा ध्यान नपुर्‍याउनु सरकारको गम्भीर गल्ती भएको टिप्पणी उनले गरे।

‘एकदमै गलत सन्देश प्रवाह भएको छ। भगवान गौतम बुद्धको सम्मानित थलोमा उभिँदै गर्दा देशभरि नै भगवान गौतम बुद्ध यही माटोमा जन्मिनुभएको थियो भन्दै गर्दा गौरव अनुभुति गर्छौं’, उनले भने, ‘संसार भरिका मानिसहरु नेपालतिर फर्केर श्रद्धा गर्छन्। त्यो माटोमा शीर एकपटक झुकाउन पाउँदैगर्दा जीवन नै धन्य भयो भन्नेखालको महशुस गर्छन्। यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भिरतापूर्वक कस्तो पृष्ठभुमीको? के योग्यता? कस्तो छविको भनेर ध्यान नपुर्याउनु वर्तमान सरकारको गम्भीर गल्ती हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org