ताजा समाचार

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष पोखरामा जुवा खालबाट पक्राउ

काठमाडाैँ । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन (मोहन थकाली) पोखरामा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय, बैदामको टोलीले बिहीबार पोखरा-८ सिर्जनाचोकस्थित लक्ष्मी होटलमा तास खेलिरहेको अवस्थामा ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

ती ७ जनामध्ये एक गाउँपालिका अध्यक्ष लालचन पनि हुन् । घरपझोङ-२ घर भएका ५८ वर्षीय उनको साथबाट प्रहरीले ५६ हजार ७५० रुपैयाँ बरामद गरेको थियो । अध्यक्ष लालचन मुख्यमन्त्री कार्यालय, गण्डकीले गत ३ र ४ भदौमा पोखरामा गरेको नवप्रवर्तन साझेदारी कार्यक्रमको समीक्षा कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए ।

उनी बिहीबार फर्कने भने पनि फर्किएका थिएनन् । गाउँकै आफन्तको होटल भएकाले पोखरा नै बसेका थिए र त्यहीँ तास खेलिरहेका थिए । यो खालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ र ४ बुक तास बरामद गरेको थियो ।

जुवा खालबाट अध्यक्ष लालचनसहित होटल सञ्चालक घोरपझोङ-२ घर भएका ५७ वर्षीय इन्द्रबहादुर हिराचन, सोही ठाउँका ४६ वर्षीय नबिनप्रसाद थकाली, पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने ६३ वर्षीय शंकर ज्वारचन, पोखरा-९ महेनद्रपुल बस्ने ५३ वर्षीय गुन्ज हिराचन, पोखरा-१० रामबजार बस्ने ५२ वर्षीय राजु गुरुङ र रामबजार नै बस्ने ५९ वर्षीय दलबहादुर हिराचन पक्राउ परेका छन् ।

कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान थालेकाले को-को पक्राउ परे भन्नेबारे आफूलाई थाहा नभएको बताए । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जुवाखालबाट केही व्यक्ति पक्राउ परेकाे र उनीहरूबारे अनुसन्धान भइरहेकाे जानकारी दिए । उनले भने, ‘ पक्राउ पर्नेकाे समूहमा पालिका प्रमुख पनि रहेकाे सुनिए पनि अनुसन्धानका क्रममा रहेकाेले अहिले केही भन्न सकिन्नँ ।’ लालचन २०७९ वैशाखको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई २ मतले हराएर अध्यक्षमा निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org