ताजा समाचार

नेपाललाई जिते पनि पर्दाफास भयाे भारतीय टिमकाे कमजाेरी

बीबीसी । एसिया कपमा भारतले नेपाललाई १० विकेटले पराजित गरे पनि कप्तान रोहित शर्माले टोलीले अझै राम्रो खेल्न नसकेको बताएका छन् । यो जितसँगै भारत प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । नेपालले दिएकाे २ सय ३० रनको जवाफमा भारतले राम्रो सुरुवात गरे पनि तेस्रो ओभरमा वर्षाका कारण खेल रोकिएको थियो ।

पछि २३ ओभरको खेल बनाइयो र भारतले १ सय ४५ रनको नयाँ लक्ष्य पायो । भारतीय ओपनर रोहित शर्मा र शुभमन गिलले  यो लक्ष्य सजिलै पूरा गरे ।  गिलले ६२ बलमा ६७ र रोहित शर्माले ५९ बलमा अविजित ७४ रन बनाए । यो खेलमा भारतको जित पक्का मान्न सकिन्छ तर नेपालजस्तो गैरअनुभवी टोलीविरुद्ध भारतीय बलरले गरेको बलिङप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पाकिस्तानले नेपाललाई १ सय ३ रनमै राेकेकाे थियाे ।

भारतको सुस्त बलिङ

पाकिस्तानविरुद्ध भारतीय ओपनरले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर दुवैले नेपालविरुद्ध भने आफ्नो गतिलाे प्रदर्शन देखाए । गिलले खेल सकिएपछि भने कि रोहित शर्मा हावामा खेल्न मन पराउँछन्, उनी बाउन्ड्री प्रहारमा विश्वास गर्छन् ।

नेपालविरुद्धकाे खेलमा शुभमन गिलले अघिल्लो खेलको गल्ती नदोहाेर्‍याएकाे मोहम्मद कैफ बताउँछन् । ‘उनी निकै ढिलो खेलिरहेका थिए, तर यो खेलमा उनले सुरुमै तीन चौका लगाएर आफ्नो आत्मविश्वास बढाए’, माेहम्मद भन्छन् ।

रोहित शर्मा र शुभमन गिलको ठूलो स्कोरलाई भारतीय टोलीले राम्रो संकेत मानेको छ । अघिल्लाे खेलमा हार्दिक पाण्ड्या र इशान किशनले ठूलो स्कोर बनाएका थिए ।

तर कमजाेर बलिङ भारतीय टोलीका लागि अझै पनि खतराका रूपमा रहेकाे छ । कप्तान रोहितले एसिया कपका दुवै खेलमा भारतले राम्रो खेल्न नसकेको बताए । उनका अनुसार पहिलो खेलमा ब्याटिङ दबाबमा आयो भने दोस्रो खेलमा बलिङ सामान्य र फिल्डिङ कमजोर रह्यो ।

केही दिनअघि पाकिस्तानविरुद्ध खेल्दा भारतीय टोलीले ६८ रनमै चार विकेट गुमाएको थियो । पछि हार्दिक पाण्डेय र इशान किशनले राम्रो ब्याटिङ गरे पनि भारत २६६ रनमा अलआउट भएकाे थियाे ।

पाकिस्तानको धारिलाे बलिङ

वर्षाका कारण पाकिस्तान ब्याटिङमा आउन सकेन, तर धारिलाे बलिङका कारण याे खेलकाे विजयी टोली पाकिस्तान नै थियो भन्ने कुरामा कुनै शंका छैन । पाकिस्तानका लागि चार विकेट लिने शाहीन शाह अफ्रिदीले प्रशिक्षक मिकी आर्थरले आफूलाई जितकाे मन्त्र दिएको बताएका थिए । ‘बलिङमा राम्रो साझेदारी राख्नुपर्छ किनभने खेल बलरले जिताउन सक्छन्’, उनले भनेका थिए ।

एकदिवसीय खेल जित्ने बलर नै हुन्, मिकी आर्थर मात्र होइन गौतम गम्भीर र डोमिनिक कर्क पनि यो कुरामा विश्वास गर्छन् । तर के नेपालविरुद्धको खेलमा भारतीय बलरले टोलीलाई त्यस्तो आत्मविश्वास दिएका थिए ?

भारतसँग नेपालको यो पहिलो एकदिवसीय खेल थियो । तर यसका बाबजुद पनि अनुभवी भारतीय बलरको अगाडि नेपालका ब्याट्सम्यान डराएनन् । नेपालको टप अर्डरले मोहम्मद सामी, मोहम्मद सिराज र हार्दिक पाण्ड्याकाे धुलाइ गरे ।

भारतको कमजोर फिल्डिङका कारण तीनवटा क्याच छुटे । यसकाे फाइदा नेपालका ब्याट्सम्यानले भरपूर उठाए ।  नेपालले स्पिनर रविन्द्र जडेजा र कुलदीप यादवलाई खेल्दा मात्र केही समस्या भोगेको थियो । नेपालको इनिङ्स २ सय ३० रन पुगेपछि अन्य शीर्ष टोलीका अगाडि यो बलिङ हल्का हुने चर्चा भारतीय क्याम्पमा बढेको हुनुपर्छ ।

एसिया कप आफैँमा ठूलो प्रतियोगिता हो  । लगत्तै हुन लागेकाे एकदिवसीय विश्वकप प्रतियोगितामा सबैकाे नजर छ ।

विश्वकपअघि भारतको चिन्ता बढ्याे

भारतीय टोलीका लागि एसिया कप विश्वकपको तयारी प्रतियोगिता पनि हो । तर भारतीय टिमकाे लय हेर्दा अहिले धेरै सुधार गर्नुपर्ने देखिएकाे छ । मोहम्मद सिराजले तीन सफलता हासिल गरे पनि ९.२ ओभरमा ६१ रन खर्चेका उनकाे इकोनोमी ६.५३ छ । मोहम्मद शामीले ७ ओभरमा एक मात्रै सफलता पाएका छन् । यी दुईको उपस्थितिका बाबजुद नेपालले पहिलो १० ओभरमा ६५ रन बनाएको थियो । उसले दसाैँ ओभरमा पहिलो विकेट गुमाएकाे थियाे । भारतीय बलरले अन्तिम ओभरमा पनि नेपालका ब्याट्सम्यानलाई तीव्र गतिमा रन बनाउने मौका दिएका छन् ।

हार्दिक पाण्ड्याले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर एक विकेट लिए । विज्ञहरू पाण्ड्याका बारेमा उनले ब्याटिङ मात्रै नभई तेस्रो सिमरको भूमिका पनि खेल्नुपर्ने बताउँछन् । सञ्जय मांजरेकरले एउटा अवस्थाकाे वर्णन गरेका छन् जसले  पाण्ड्याको बलिङको महत्त्व देखाउँछ ।

उनले भने, ‘मानौँ भारतले अन्तिम ओभर बलिङ गर्नुपर्नेछ र जितका लागि १० रन चाहिएकाे छ । यस्तो बेला कप्तान रोहित शर्मासँग एकभन्दा बढी सीमरको विकल्प हुनुपर्छ । यदि दुई सीमरमध्ये एकको आजको दिन खराब छ भने, हार्दिकको बलिङ धेरै महत्त्वपूर्ण हुन्छ ।

बुमराहबाट अपेक्षा

नेपालविरुद्धको खेलमा भारतीय टिमले सबैभन्दा धेरै कमी महसुस गरेका भारतीय खेलाडी जसप्रित बुमराह हुन् । बुमराह निजी कामले भारत फर्किएपछि नेपालविरुद्ध मैदानमा थिएनन् । खेलको क्रममा  गौतम गम्भीर भारतीय खेलाडी बुमराहकाे काँधमा सबैभन्दा बढी जिम्मेवारी रहेकाे बताएका थिए ।

गम्भीरले भने, ‘यो विश्वकपमा भारतका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी जसप्रित बुमराह हुन् । २०११ मा भारतको जितको लागि मानिसहरूले तेन्दुलकर, वा युवराज सिंह वा धोनीलाई सम्झन्छन् तर भारतको जित सुनिश्चित गर्ने खेलाडी जहीर खान थिए । त्यस्तै बुमराह पनि यसपटक भारतका लागि महत्वपूर्ण हुनेछन् ।

गम्भीरले भने कि यदि बुमराहले राम्रो बलिङ गरे भने भारतको जित्ने सम्भावना बढ्छ र जुन टोलीले राम्रो बलिङ गर्छ उसले जित्ने सम्भावना बढी हुन्छ ।

अर्कोतर्फ, इंग्ल्यान्डका पूर्वबलर डोमिनिक कर्क पनि ब्याट्सम्यानलाई रन बनाउन गाह्रो भएका बेला बलरले खेल जिताउने विश्वास गर्नुपर्ने बताउँछन् । ‘बुमराहको राम्रो कुरा यो हो कि उसले जुनसुकै बेला बलिङ गर्न सक्छ । उसले बलिङ खोल्न सक्छ, बीचको ओभरमा बलिङ गर्न सक्छ र डेथ ओभरमा उसकाे बलिङकाे बराबरी कसैले गर्न सक्दैन’, उनी भन्छन् ।

म्याथ्यू हेडनले पनि पण्ड्याले राम्रो बलिङ गर्दा र उनको उपस्थितिले भारतीय टोलीमा सन्तुलन ल्याउने हुँदा ६ नम्बरमा रहेका पाण्ड्याको ब्याटिङले पनि प्रभाव पार्ने बताउँछन् । जहाँसम्म स्पिनरहरूको सवाल छ, जडेजा र कुलदीप दुवैले नेपालविरुद्ध राम्रो बलिङ गरे । उनीहरूले मिलेर २० ओभरमा ७४ रन बनाए र तीन विकेट लिए ।

भारतीय बलिङको बारेमा कुरा गर्दै हेडनले यो पनि भने कि भारतीय टोलीले विश्वकप टोलीमा अर्शदीप सिंहको बारेमा पनि सोच्न सक्छ किनभने बायाँ हाते बलरले टोलीलाई बलियो बनाउनेछ । एसिया कपको अर्को खेल आज अफगानिस्तान र श्रीलंकाबीच हुँदैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org