ताजा समाचार

सुशासन, विकास र समृद्धिका लागि ‘हिमालय मातृभूमी फाउण्डेशन’ को स्थापना : अध्यक्ष टीकाराम पुरी

काठमाडौं । ‘हिमालय मातृभूमी फाउण्डेशन’ का अध्यक्ष टीकाराम पुरीले आफू अध्यक्ष रहेको संस्था नेपाललाई माया गर्ने देशमक्त नेपालीहरुको सेवामुलक साझा गैरसरकारी संस्था भएको दाबी गरेका छन् । यही असोज ११ गते बिहीबार संस्थाको समुद्घाटन कार्यक्रममा अध्यक्ष पुरीले सरोकारवालासँग हातेमालो गर्दै सुशासन, विकास र समृद्धिको पक्षमा काम गर्ने जनाए ।

देशमा विभिन्न समयमा विभिन्न राजनीतिक शक्तिको उदय भएपनि जनताको सपना अधुरै रहनु दुर्भाग्यपूर्ण भएको अध्यक्ष पुरीकोे भनाइ थियो । विगतदेखि वर्तमान अवस्थासम्म आइपुग्दा देशमा धेरै राजनीतिक परिवर्तन भएपनि जनताले परिवर्तनको महसुस नगरेकाले जनताको मनोभावना बुझ्दै सुशासन, विकास र समृद्धिमा जोड दिनका लागि संस्था स्थापना गर्नु परेको उनले बताए । २०४६ सालपछि जहिल्यै पनि देशमा राजनीनिक अस्थिरता भएको जनाउँदै उनले अहिलेकै कदमले देशमा सुशासन कायम गर्न सकिने अवस्था नरहेको दाबी गरे । नेपालभन्दा पछि प्रजातन्त्रको अभ्यास गर्ने देशहरुले आर्थिक तथा राजनीतिकरुपमा निकै नै फड्को मारेको उनको भनाइ थियो ।

स्वदेशमा विद्यार्थीहरुले पढ्न नचाहनुको कारण सरकारको खराब शिक्षा नीति भएको उनको दाबी छ । प्रत्येकवर्ष एकलाख विद्यार्थी बाहिर जाने गरेको र प्रत्येक विद्यार्थीले कम्तिमा ३० लाख रुपियाँ बाहिर लैजानुपर्ने अवस्था शासक वर्गको कमजोरीका कारण भएको उनको ठोकुवा छ । यसैगरी देशमा सुशासन कायम नहुनुको कारण अस्थिर राजनीति भएको जनाउँदै उनले देश उत्पादनमुखी नहुनु पनि दुर्भाग्यपूर्ण भएको जनाए । संविधान तथा कानुनअनुसार उत्पादन गर्ने उद्योगहरु चल्नुपर्ने जनाउँदै उनले उत्पादन बढाउँदै लगेका उद्यमीलाई माफियाको संज्ञा दिनु उचित नभएको भनाइ राखे ।

यस्तै राजनीतिक दलमा आबद्ध नेता तथा कार्यकर्ताको ध्यान स्वार्थ र पदमा मात्रै गएको जनाउँदै अध्यक्ष पुरीले उत्पादनमा अलिकति पनि ध्यान नदिएको गुनासो गरे । राजनीतिमा लागेका व्यक्तिहरु पैसा खर्च गरेर मात्रै अगाडि बढ्ने अवस्था विद्यमान भएको जनाउँदै उनले भने, ‘सरकार उत्पादनलाई ध्यान नदिइ जनताका समस्याहरु टुलुटुलु हेरेर बसेको छ, राजनीतिक दलका नेता र कार्यकर्तालाई राजनीतिक नियुक्ती र पद चाहिएको छ, सरकारले खराब प्रवृति पनि टुलुटुलु हेरेर बसेको छ।’

दल तथा तिनमा आबद्ध नेता कार्यकर्ताहरुले सबै क्षेत्र जानेको छु भन्ने अहंकार बोकेर हिँडेको उनले गुनासो गरे । ‘मैले देशका लागि गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ, उत्पादनमुखी काम गर्नुपर्छ भन्ने राजनीतिक दलका नेतामा कहिल्यै देखिएन, हामी भने टुलटुलु हेरेर बस्छौं’, उनले भने । हरेक क्षेत्रमा राजनीतिक दलका कार्यकर्ताहरु हावी भएको र उनीहरुले आफूआबद्ध राजनीतिक दलको भजन मात्रै गाएको उनको दाी थियो । नेता तथा शासकहरु खराब मार्गमा गएको देखेपनि कार्यकर्ताहरुले विरोध नगर्नु राम्रो संकेत नभएको उनको दाबी थियो । पुरी भन्छन्, ‘नेताहरुको भ्रष्ट आचारणको विरोध गरेमा पछि परिन्छ कि भन्ने तल्लोस्तरका कार्यकर्ताको बुझाइ छ । त्यो डरलाई हटाए केही हदसम्म सुशासनमा टेवा पुगन सक्छ।’

अर्थतन्त्र सपार्न राजनीतिक परिपाटीमा सुधार हुनुपर्ने दाबी गर्दै उनले नेपालमा जुन कुरा राम्रो हुन्छ त्यसलाई ओझेल पार्ने, तहसनहस पार्ने प्रवृति हावी रहेको तर्क गरे । देश अब बेथितिले नचल्ने जनाउँदै पुरी भन्छ्न्, ‘दलका नेता कार्यकर्ताहरुले काम गरेर खाने परिपाटीको विकास गर्नुपर्छ, देशको उत्पादनमा जोड दिनुपर्छ, दिगो विकासका कार्यक्रमहरु अगाडि बढाउनुपर्छ।’  सबै ६० वर्ष मुनिका नेपाली नागरिक ८ घण्टा काममा खटिँदै सुशासन र उत्पादनमा जोड दिनुपर्छ, देशको विकास सम्भव छ भन्ने पुरीको ठोकुवा छ । विकास, समृद्धि र सुशासनको पक्षमा एकजुट भएर अगाडि बढ्न उनले सवैमा आब्हान गरेका छन् । सबै सरोकारवालासँग सहकार्य गरेर आफूहरु सामाजिक कार्यमा लाग्ने जनाउँदै उनले हातेमालो गरेर अघि बढेमा मुलुक बनाउन सकिने दाबी गरे । राजनीतिमा लागेर अकुत कमाउने र भ्रष्टाचार गर्ने परिपार्टीको अन्त्यका लागि सबै एकजुट भएर अगाडि बढौं भन्ने पनि अध्यक्ष पुरीले सबैमा आग्रह गरेका छन् ।

फाउण्डेशनका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सागरप्रसाद धिताल, पूर्वराजदूत महेश दाहाल, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्याब्सनका अध्यक्ष डीके ढुंगाना, एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने, राजनीतिक विश्लेषक मुमाराम खनाल, दिनेश सुवेदीलगायतले धारणा राखेका थिए । सुनिल बजगाईले अवधारणापत्र प्रस्तुुत गरेको कार्यक्रमका वक्ताहरुले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न फाउण्डेशनको अभियानले टेवा पुर्याउने जनाए ।

‘हिमालय मातृभूमि फाउण्डेशन’को परिचय

हिमालय मातृभूमि फाउण्डेशन गैरनाफामूलक सामाजिक संस्था हो । मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा रहेका विद्यमान विसङ्गति एवम् असमक्षमताहरूको निरूपण गरी समाजवाद उन्मुख समृद्ध राजनीतिक, आर्थिक एवम् सामाजिक व्यवस्था निर्माणको लागि पहल गर्ने उद्देश्यले समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका व्यक्तिहरूबाट यस संस्थाको स्थापना गरिएको हो । यस संस्थाको मुख्य उद्देश्य मुलुकमा सुशासन, विकास, समृद्धि र मानव अधिकारको लागि राष्ट्रव्यापी रूपमा अभियान सञ्चालन गर्नु रहेको छ । संस्थाले राष्ट्रिय एकता, महिला लगायत पछाडि पारिएका वर्गको सशक्तीकरणको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने छ । आधुनिक विश्वमा विकसित भइरहका नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै तीव्र आर्थिक विकास हासिल गर्न संस्थाले अभियान चलाउने छ । मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, विकृति, भ्रष्टाचार, अनियमितता, कानुनी शासनको अभाव, सक्षम नेतृत्वको अभाव तथा राजनीतिक, आर्थिक तथा सामाजिक विसङ्गतिविरुद्ध संस्थाले वकालत गर्ने छ । संस्थाले मुलुकमा तीव्र विकासको खाका तयार गरी त्यसको कार्यान्वयनको लागि आवश्यक पहल
गर्ने छ ।

अवधारणापत्रको उद्देश्य र औचित्य

यो अवधारणापत्रको मुख्य उद्देश्य मुलुकमा तीव्र गतिमा आर्थिक तथा सामाजिक विकास हासिल गर्न तथा मुलुकको विद्यमान राजनीतिक, आर्थिक एवम् सामाजिक प्रणालीमा देखिएका समस्याहरू र तिनको समाधानका उपायहरूको बारेमा हिमालय मातृभूमि फाउण्डेशनको दृष्टिकोण सार्वजनिक गर्नु हो । यस अवधारणापत्रले मुलुकको राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा आमूल परिवर्तन गरी समृद्धि हासिल गर्नको लागि संस्थाको दृष्टिकोण र भावी कार्यदिशाको बारेमा जानकारी प्रदान गर्दछ । नेपाल विश्व व्यवस्थामा आर्थिक तथा सामाजिक रूपमा पछाडि पर्नुका कारणहरूको पहिचान गरी त्यसको समाधान गर्दै तीव्र आर्थिक सामाजिक विकास सहित मुलुकमा समृद्धि हासिल गर्न पहल गर्ने संस्थाको उद्देश्य कार्यान्वयन गर्नको लागि यो अवधारणापत्रले दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

हिमालय मातृभूमि फाउण्डेशनले गर्ने पहलहरू:

समाजवाद उन्मुख राजनीतिक, आर्थिक तथा सामाजिक प्रणालीको स्थापना गर्नको लागि विद्यमान चुनौतीहरूको सामाधान गरी तीव्र विकास मार्फत समृद्धि हासिल गर्नु हिमालय मातृभूमि फाउण्डेशनको मुख्य उद्देश्य हो । यसको लागि फाउण्डेशनले मुलुकको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक संरचनालाई मध्यनजर गरी विभिन्न कार्यक्रमहरू तय गरी सञ्चालन गर्ने छ । फाउण्डेशनले तल उल्लिखित विषयहरू लगायत समसामयिक विषयहरूमा मुलुकभित्र र बाहिर कार्यक्रमहरू सञ्चालन गर्नेछ । यसका लागि केन्द्र, प्रदेश, जिल्ला, स्थानीय स्तर र प्रवासमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ । फाउण्डेशनले अध्ययन-अनुसन्धान, बैठक, अन्तरक्रिया  सभा, सम्मेलन, गोष्ठी, याली, प्रेस विज्ञप्ति, पत्रकार सम्मेलन, अन्तरवार्ता, अन्तरसंवाद, सामाजिक सञ्जालको प्रयोग, एसएमएस, एप, वेबसाइट जस्ता विभिन्न माध्यमहरूबाट कार्यक्रमहरू सञ्चालन गर्ने छ ।

फाउण्डेशनले सञ्चालन गर्ने कार्यक्रमहरू :

क) विद्यमान राजनीतिक अस्थिरताको बारेमा अध्ययन गरी समाधानका उपायहरू पहिचान गर्ने ।

ख) राजनीति सुधार भएमा मात्र अन्य क्षेत्रमा पनि सुधार हुने छ भन्ने धारणाका साथ राजनीतिक दलहरू, तिनका नेता, कार्यकर्ता र प्रणालीमा देखिएका विसङ्गतिहरूको पहिचान गरी समाधानका लागि पहल गर्ने । यस सम्बन्धमा आम नागरिकहरूलाई सचेत बनाउने ।

ग) पराराष्ट्र सम्बन्धलाई असंलग्न, समानता, आपसी हित र मुलुकको सार्भभौमसत्ताको हितमा आधारित भई सञ्चालन गर्न तथा परराष्ट्र नीतिमा राष्ट्रियसहमति कायम हुनुपर्ने कुरालाई जोड दिन आवश्यक अध्ययन, अनुसन्धान तथा वकालत गर्ने ।मुलुकमा व्याप्त भ्रष्टाचार र सुशासनको अभाव जस्ता समस्याहरूको पहिचान गरी त्यसलाई समाधान गर्न वकालत गर्ने ।

घ) सबै लिङ्ग, जाति, भाषा, धर्म र संस्कृतिकाबीच सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्न कार्यक्रमहरू सञ्चालन गर्ने ।

– शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सुरक्षामा सबैको समान पहुँच स्थापना गर्नको लागि वकालत गर्ने र पढ्दै रोजगारी गर्दै कार्यक्रम बनाई कार्यान्वयन गराउन आवश्यक पहल गर्ने ।

-व्यावहारिक, व्यावसायिक तथा प्राविधिक शिक्षा प्रणालीको स्थापनाको लागि आवश्यक पहल गर्ने । सार्वजनिक नीजि साझेदारीमा शिक्षा क्षेत्रको विकास गर्ने नीतिको विकास तथा प्रवर्धन गर्न पहल गर्ने

-तीव्र आर्थिक, भौतिक तथा सामाजिक विकासका सम्भावनाहरूको बारेमा अध्ययन गरी त्यसलाई कार्यान्वयन गर्न पहल गर्ने ।

-कृषि, पर्यटन, ऊर्जा तथा उद्योग, खानी तथा भूगर्भको क्षेत्रमा तीव्र विकास हासिल गरी मुलुकमा रोजारीको सिर्जना गर्ने तथा तीव्र आर्थिक विकास गर्नको लागि सम्भावनाहरूको पहिचान गरी योजना निर्माण गर्न आवश्यक पहल गर्ने

-युवा जनशक्तिलाई मुलुकभित्र बसेर काम गर्न सक्ने वातावण बनाउन कार्यक्रमहरू सञ्चालन गर्ने । विदेशबाट फर्किएका जनशक्तिलाई              उत्पादनमूलक कार्यमा सहभागी गराउन कार्यक्रमहरू सञ्चालन गर्ने ।

– सार्वजनिक नीजि साझेदारीमा रोजगारी प्रवर्धन गर्न पहल गर्ने ।

-आम नागरिकमा देखिएको निराशा हटाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।

-विद्यमान सामाजिक तथा सांस्कृतिक कुरीति, विभेद र असमानताको विरूद्ध वकालत गर्ने ।

-धार्मिक, जातीय तथा सांस्कृतिक सहिष्णुता एवम् सौहार्दताको प्रवर्धन गर्ने ।

– न्यायालयलाई निष्पक्ष, पहुँचयोग्य, सक्षम तथा भ्रष्टाचारमुक्त बनाउन आवश्यक वकालत गर्ने ।

-मानव अधिकारको संरक्षण तथा प्रवर्धनको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने । मानव अधिकारका प्रतिवद्धताहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन पहल गर्ने । वातावरण संरक्षणको लागि कार्यक्रमहरू सञ्चालन गर्ने । मुलुकभित्र र विदेशमा रहेका महिला, युवा, विभिन्न पेशा र वर्गका व्यक्तिहरूलाई संगठीत गरी मुलुकमा समृद्धिको अभियानमा सहभागी गराउने ।

-मुलुकमा विकास र समृद्धि हासिल गर्न राज्यका सबै अङ्ग, सरकार, निकायहरू, नीजि क्षेत्र तथा नागरिक समाजको पारस्परिक सहयोग र सहकार्य बढाउन अभियान सञ्चालन गर्ने ।

संस्थाको विश्लेषण तथा निष्कर्ष

नेपाल प्राकृतिक, सामाजिक तथा सांस्कृतिक दृष्टिकोणबाट धनी मुलुक भए पनि राजनीतिक अस्थिरता, भ्रष्टाचार तथा कानुनी शासनको अभाव, स्रोत साधनहरूको दुरुपयोग जस्ता विभिन्न कारणहरूले विश्व व्यवस्थामा धेरै पछाडि परेको छ । नेपाली राजनीतिक तथा प्रशासनिक नेतृत्वको असक्षमता, जनताले पटक पटक गरेको सङ्घर्षबाट राजनीतिक प्रणालीमा परिवर्तन भए पनि विकास तथा जनताको जीवनस्तर उकास्ने विषयमा अपेक्षित परिणाम आएको छैन । आम नागरिकले देखेको समृद्धिको सपना केवल सपनामा नै सीमित भएको छ । मुलुकको राजनीतिक प्रणालीले दिइरहेको राजनीतिक अस्थिरता, अनियमितता, भष्ट्राचार र साधन स्रोतको दोहनले मुलुकको आर्थिक तथा सामाजिक प्रणालीलाई कमजोर बनाउदै लगेको छ । यसबाट आम नागरिकमा नैराश्यता बढेको छ । परिणामस्वरूप युवा तथा दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको छ । सम्पन्न मुलुकहरूलाई श्रम शक्तिको अभाव छ, त्यही अभावलाई पूर्ति गर्न सहयोग गर्ने बाहेक दक्ष जनशक्तिको उत्पादन गरी मुलुकको विकासमा लगाउने दृष्टिकोण सहितको योजना निर्माण गरी कार्यान्वयन गर्न सकेको छैन ।

हरेक क्षेत्रमा बढ्दै गएको अनियमितता र भ्रष्टाचार एवम् असक्षमताको अवस्थालाई कानुन तथा नीति निर्माण एवम् प्रभावकारी कार्यान्वयनको माध्यमबाट सम्बोधन गरी आम नागरिकहरूलाई मुलुकभित्र बसेर प्रगति गर्न सकिन्छ भन्ने आशाको दियो जलाउन सकेमा मात्र मुलुकले आर्थिक तथा सामाजिक क्षेत्रमा प्रगति गरी विश्वव्यवस्थामा प्रतिस्पर्धा गर्न सक्दछ । सुशासन, गरिबी निवारण, भ्रष्टाचार निवारण, स्पष्ट दृष्टिकोण सहित रूपानान्तरणकारी योजनाहरूको निर्माण गरी कार्यान्वयन गर्ने, सामाजिक तथा सांस्कृतिक कुरीतिहरूको उन्मूलन गर्ने जस्ता कार्यमा राज्यका निकायहरूले ध्यान दिनु आवश्यक छ । यस्ता विषयमा राजनीतिक तथा प्रशासनिक नेतृत्वबाट पटक पटक प्रतिवद्धता जनाइएको भए पनि त्यसको कार्यान्वयनको आवश्यकता रहेको छ ।

राजनीतिक परिवर्तनको लागि पटक पटक परीक्षण भई असक्षम साबित भइसकेका व्यक्तिहरूलाई दलहरूले बिदा दिने र राजनीतिलाई पेशा बनाउने र अकुत सम्पत्ती आर्जन गर्ने साधनको रूपमा प्रयोग गर्ने प्रवृत्तिलाई हटाई शुद्धीकरण गर्नु आवश्यक छ । विवादित र असक्षम व्यक्तिहरूलाई पटक पटक दलीय भागबन्डाको आधारमा राजनीतिक नियुक्ति गर्ने परिपाटीको अन्त्य हुनु आवश्यक छ । सानो ठूलो सबै पदमा निर्वाचित तथा नियुक्ति हुने व्यक्तिको क्षमता, इमान्दारीता, नैतिकता तथा विश्वसनियताको परीक्षण गरिने पद्धतिको विकास गर्नु आवश्यक छ ।

आर्थिक विकासको लागि कृषिमा आधुनिकीकरण गर्नुका साथै उत्पादन बढाउने योजना बनाई कार्यान्वयन गर्नु आवश्यक छ । मुलुकलाई खाद्यान्नमा आत्मर्निभर बनाउने योजनाको खाँचो रहेको छ । यसैगरी स्वदेशी तथा विदेशी लगानीको वातावरण तयार गर्न सुरक्षा, उद्योग प्रतिष्ठानमा हुने राजनीतिक हस्तक्षेपको अन्त्य र न्यायोचित कर प्रणालीको विकास गर्नु आवश्यक छ । यसको साथै ऊर्जा, पर्यटन, खनिज पदार्थको उपयोग जस्ता विषयमा समयसान्दर्भिक योजना बनाई कार्यान्वयन गर्नु आवश्यक छ ।

योजना निर्माण तथा बजेट कार्यान्वयनको क्रममा पहुँचको खेललाई अन्त्य गरी आवश्यकताको आधारमा न्यायोचित वितरणमा जोड दिनु आवश्यक छ । सबै लिङ्ग, वर्ग र क्षेत्रका नागरिकहरूबीच समानता कायम गर्न साधन स्रोतको न्यायोचित वितरण प्रणालीको स्थापना गर्नु पर्दछ । कानुनको शासन तथा मानव अधिकारको सुनिश्चितताको लागि जनताले अनुभूति गर्ने गरी कानुन तथा नीतिहरूमा परिमार्जन गरी इमानदारितापूर्वक लागु गर्नु आवश्यक छ । स्रोत साधनमा सबै लिङ्ग, वर्ग र क्षेत्रमा नागरिकहरूले सामन पहुँच पाउने गरी नीतिगत सुधार गरी इमानदारितापूर्वक कार्यान्वयन गर्नु आवश्यक छ ।

राज्यका सबै अङ्ग, निकायहरू एवम् सबै तहका सरकार, राजनीतिक दलहरू एवम् नीजि क्षेत्रको सौहार्दतापूर्ण सहकार्यबाट मात्र मुलुकको विकासमा योगदान पुग्छ । मुलुकका सबै तहमा विद्यमान अराजकता, अनावश्यक द्वन्द्व, विरोधको लागि विरोध गर्ने कुसंस्कृति, नकारात्मकता एव् असहिष्णुताको अन्त्य गरी सहमति र सहकार्यको परिपाटीको विकास गर्नु आवश्यक छ । मुलुकको विकास र समृद्धि हासिल गर्ने सन्दर्भमा सबै पक्ष एकै ठाउँमा उभिएर साझा नीति तय गर्न सकिएमा आम नागरिकले राखेको समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ । समाजवाद उन्मुख राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्था निर्माणको लागि विद्यमान चुनौतीहरूको समाधान गर्दै विकासको गतिलाई तीव्र बनाइ मुलुकमा समृद्धि हासिल गर्ने अभिप्रायले हिमालय मातृभूमि फाउण्डेशनले सबै लिङ्ग, वर्ग, जाति र क्षेत्रका जनतालाई गोलवद्ध गरी अभियान सञ्चालन गर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org