ताजा समाचार

रिगलको कैद मिनाहाको कारणसहित जवाफ पेश गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यक्ति हत्या मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेशदिएको छ ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । इजलासले असोज २४ गते ५ बजेभित्र आममाफी दिनुको कारण सरकारसँग माग गरेको छ।

सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । त्यस्तै मुद्दाको सुनुवाइको दिन बहसमा महान्यायाधिवक्तालाई नै उपस्थित हुन आदेश दिएको छ ।

रिगलको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयपछि उनले हत्या गरेका चेतन मानन्धरको परिवारले आपत्ति जनाएको छ । चेतनकी पत्नी भारती शेर्पाले रिगलको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

सो रिटमा बिहीबार सुनुवाइ गर्दै सर्वोच्चले निवेदक भारती र उनको परिवारको सुरक्षाको प्रत्याभूति गराउन पनि आदेश दिएको छ ।

त्यस्तै रिगलविरुद्ध सर्वोच्च अदालतमा चलेको र पछि फिर्ता भएको मुद्दाको मिसिल र अरु कागजात अवलोकनका लागि पेश गर्न पनि आदेश दिएको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगन्जका चेतन अधिकारीका हत्यारा (रिगल)लाई आममाफी दिएका थिए।


Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org