ताजा समाचार

दुर्गा प्रसाईँ र युवा संघले माइतीघरमा कार्यक्रम गर्न नपाउने

काठमाडौँ । मङ्सिर ७ मा दुर्गा प्रसाईँको समूह र युवा संघको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने निर्णय भएको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए ।

प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको काठमाडौँका सहायक प्रजिअ रवीन्द्र आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार माइतीघर मण्डलाको बाटो उपत्यकाको लाइफलाइन भएको हुनाले त्यहाँ दमकल र एम्बुलेन्स हिड्न असहज हुने भन्दै दुवै समुहलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने र अन्यत्र कार्यक्रम गर्ने बार छलफल गरिने बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ ।

दुर्गा प्रसाईँले नेतृत्व गरेको समूहले कम्तीमा ५ हजार मानिस उपत्यका बाहिरबाट ल्याउन सक्ने आकलन सुरक्षा निकायले गरेको छ । युवा संघले १५ हजार मानिस उतार्ने सुरक्षा निकायको आकलन छ ।

दुवै समूह माइतीघरमा आमने–सामने हुने भएपछि गृह प्रशासनले सो क्षेत्रमा ‘झडप’ हुने आकलन गर्दै त्यहाँ कार्यक्रम गर्न रोक लगाएर ‘निषेधाज्ञा’ लगाउने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट समन्वय गर्दा दुवै पक्षले कानुन कार्यान्वयनमा सघाउने बताएको सहायक प्रजिअ आचार्यले बताए । उनले भने–‘आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्छौँ ।’

आइतबार गृह मन्त्रालयमा दुईवटा समूहलाई एकै ठाउँमा कार्यक्रम गर्न दिन नहुने बारे छलफल भएको थियो । छलफलमा सहभागी गृह मन्त्रालयका एकजना उच्च अधिकृतका अनुसार ७ मङ्सिरबाट १५ दिनसम्म माइतीघर हुँदै नयाँ बानेश्वरसम्म निषेधाज्ञा लगाउने गृह प्रशासनको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org