ताजा समाचार

दुर्गा प्रसाईंकाे आन्दाेलनमा कमल थापाकाे साथ, दमन नगर्न सरकारलाई आग्रह

काठमाडाैँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दू राष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन एवं जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेका छन् ।

उनले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न सरकार र प्रमुख राजनीतिक दलहरूको ध्यानाकर्षण समेत गराएका छन् ।

काठमाडौंमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रशासनिक दमनको परिणामस्वरूप केही प्रदर्शनकारी घाइते भएको सुन्दा दु:ख लागेको भन्दै थापाले घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना समेत गरेका छन् ।

साथै, आगामी दिनमा सर्वसाधारण जनतालाई कठिनाई नहुने र विद्यार्थीको पढाइलाई असर नपर्ने गरी शान्तिपूर्ण ढंगबाट प्रदर्शन संचालन गर्न आयोजकहरूमा थापाले अनुरोध गरेका छन् । राजसंस्था र हिन्दू राष्ट्र चाहनेहरू  हिंसा र तोडफोडमा विश्वास गर्दैनन् भन्ने सन्देश दिनुपर्नेमा थापाको जोड छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org