ताजा समाचार

एमाले अध्यक्षद्वारा सहिद दशरथचन्दको जन्मघरको अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दशरथचन्दको जन्मघरको अवलोकन गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका अध्यक्ष ओलीलगायतका नेताले आज बिहान बैतडीको दशरथचन्द नगरपालिका–५ बस्कोटस्थित सहिद दशरथचन्दको जन्मघरमा अवलोकन गरेका हुन् ।

ओली लगायतका नेताहरुले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जनाएका छन् । उनका अनुसार नेताहरुले घरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरेका छन् ।

विगत लामो समयदेखि प्रतिष्ठानलाई राष्ट्रिय स्तरको घोषणा गर्न पहल भए पनि सरकारी निकायबाट बेवास्ता गरेकाले एकाले अध्यक्ष ओलीलाई राष्ट्रिय प्रतिष्ठान घोषणाका लागि पहल गर्न ज्ञापनपत्र बुझाइएको अध्यक्ष चन्दले बताए । झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो ।

यसअघि अध्यक्ष ओलीले आजै यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरको दर्शन गरेका थिए । सङ्कल्पयात्रा शुभारम्भपछि ओलीले आजै गोठलापानीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्नेछन् । आज साँझ खोडपेमा बझाङका नेता कार्यकर्तासँगको भेटघाट रहेको एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org