ताजा समाचार

स्वास्थ्यका उपकरण छिटो खरिद गर्न ऐनको संशोधन गर्नु पर्नेमा जोड

काठमाडौं, पुस ६ गते । सार्वजनिक खरिद ऐन स्वास्थ्य मैत्री नहुँदा स्वास्थ्य उपचार उपकरण खरिदमा ढिला हुने गरेको विज्ञले बताएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखले नेपालको स्वास्थ्य क्षेत्रमा आपूर्ती व्यवस्थापन प्रणली सम्बन्धी अन्तक्रिया कार्यक्रममा विज्ञले यस्तो तर्क गरेका हुन्।

कार्यक्रममा व्यवस्थापन महाशाखा निर्देशक सर्वेश शर्माले स्वास्थ्यका उपकरण खरिद प्रक्रिया झन्झटिलो भएको जीकिर गर्नुभयो। ऐन नहेरी उपकरण किन्न गाह्रो हुने र ऐन हेरेर खरिद गर्दा स्वास्थ्यका साम्रगी ल्याउन एक वर्षको समय लाग्ने उहाँको भनाइ छ। उहाँ भन्नुहुन्छ, “खरिद ऐनमा टेकेर साम्रगी खरिद गरेमा एक वर्षसम्म पनि सम्रगी ल्याउन गाह्रो पर्छ, तर कानुन नमानी ल्याउँछु भन्ने हो भने त्यही साम्रगी दुई मिनेटमा ल्याउन सकिन्छ। ”

महाशाखा अन्तर्गतको आपूर्ती शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न कुनै छुट्टै व्यवस्था नगरिएकोले महामारीको बेलामा सामग्री खरिद गर्न गाह्रो हुने गुनासो गर्नुभयो। उहाँले भन्नुभयो,“सार्वजनिक खरिद ऐनमा स्वास्थ्यका सामग्री खरिद गर्न छुटै व्यवस्था नगरिएकोले खरिद प्रक्रिया सुरु गरेको एक वर्ष पछि मात्र साम्रगी आइपुग्छ। त्यसैले स्वास्थ्यका उपकरण बेलाबेलामा अभाव हुने गर्छ। ”

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता मिश्राले पनि खरिद प्रक्रिया झन्जटिलो हुँदा नयाँ उपकरण किने पनि त्यो उपकरण खरिद भएर आउँदासम्म पुरानो मोडलको हुने बताउनुभयो। उहाँले भन्नुभयो, “विश्वमा उपकरण छिटोछिटो विकास हुनेक्रम बढ्दो छ। तर नेपालमा स्वास्थ्यका उपकरण नयाँको लागि प्रक्रिया गरेपछि त्यो खरिद भएर आउँदासम्म अर्को नयाँ सुविधा सहितको उपकरणहरु बजारमा आइपुग्छन्। ”

यस्तो समस्याको समाधान गर्न खरिद गर्न सार्वजनिक खरिद ऐनको संसोधन आवश्यक रहेको डा. मिश्राको तर्क छ। उपकरणको गुणस्तर मापन गर्ने सम्बन्धित नियमक नहुँदा गुणस्तरीय भनेर किनेका उपकरण पनि छिटै बिग्रने गरेको डा. शर्माको गुनासो गर्नुभयो। उहाँले स्वास्थ्यका उपकरण छिटो छरितो रुपमा खरिद गर्न सार्वजनिक खरिद ऐनको संसोधन गर्नुपर्नेमा जोड दिनुभयो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org