ताजा समाचार

राजनीतिक नेतृत्वले पत्रकारिता क्षेत्रलाई समस्यामा पर्दा साथ दिएन : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक नेतृत्वले आफ्नो स्वार्थ अनुकूल पत्रकारितालाई प्रयोग मात्र गरेको तर पत्रकारिता क्षेत्र समस्यामा पर्दा साथ नदिएको बताउनुभएको छ।

सोमबार प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष बस्नेतले अहिले साँच्चै पत्रकारिता जगत समस्यामा परेको बताउनु भयो । राजनीतिक नेतृत्वले पत्रकारितालाई आफू अनुकूल प्रयोग गर्दै आएर यो क्षेत्रको विकास र सम्बर्धनमा भने बेवास्ता गरेको बस्नेतको निश्कर्ष छ ।

‘नेपाली पत्रकारिता साँच्चै अप्ठ्यारोमा छ । राजनीतिक नेतृत्वले सजिलैसँग हामी यो क्षेत्रको विकास र संबर्धनको लागि लाग्छौं भनेको सुनिन्छ । सधैंभरी प्रयोगमात्रै गर्ने, आफूलाई अप्ठेरो र संकटमा परेको बेलामा साथ लिन खोज्ने, तर पत्रकारिता अप्ठेरोमा परेको बेला केही गर्न नसक्ने ठिक्क पर्यो भने जस्तै जस्तै भन्ने प्रवृति देखिएको छ । यसमा हामी गम्भीर हुनुपर्छ,’ काउन्सिलका अध्यक्ष बस्नेतले भन्नुभयो ।

बस्नेतले पत्रकारिता नजोगिए सरकार र राजनीति समेत नजोगिने जिकीर गर्नुभयो । ‘पत्रकारिता जोगिएमात्रै राजनीति जोगिन्छ सरकार पनि जोगिन्छ,’ उहाँले भन्नुभयो । सरकारले अहिले कानून निर्माणको तहमा कतिपय गम्भीर खालका प्रावधानहरु पत्रकारितालाई समस्या पार्ने गरी ल्याउन लागेको भन्दै उहाँले यस्ता गतिविधि सरकारी तहबाटै हुन लाग्यो भने प्रेस चौतारीलगायतका संगठनहरु सजग बन्नुपर्ने बताउनुभयो ।

नयाँ मिडियाले पत्रकारितालाई चुनौती दिइरहेको बताउनुभएका बस्नेतले यसलाई चुनौतीसँगै अवसरका रुपमा लिएर पत्रकारितालाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रेस काउन्सिलले आवश्यक सहयोग गर्ने आश्वासन पनि उहाँले बताउनुभयो । कार्यक्रममा अध्यक्ष बस्नेतले प्रेस चौतारीले पुरस्कारका लागि छनोट गरेको पत्रकारको नाम सुन्दा र अनुहार हेर्दा निकै गर्व गर्न लायक भएको भन्दै छनोट समिति र संगठनका नेतृत्वलाई धन्यवादसमेत दिनुभयो । जुन अनुहार पुरस्कृत हुनुभएको छ, यो गर्व गर्न लायक छ, प्रेस चौतारीलेसधै यस्तै योग्य अनुहार छनोट गरोस, बस्नेतले भन्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org