ताजा समाचार

अर्धवार्षिक समीक्षा: विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

काठमाडाैख् ।  चालू आर्थिक वर्ष ०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालू आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।

गत असार मसान्तसम्ममा रु. १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा रु. १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु. १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई रु. १६ खर्ब २३ करोड पुगेको छ।

राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु. एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा पुस मसान्तसम्म पुग्दा ११.८ प्रतिशतले वृद्धि भई रु. दुई खर्ब १६ अर्ब ३५ करोड कायम भएको छ। गत पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत छ।

आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

यो अवधिसम्ममा रहेको विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३३.८, १००.९ र २७.७ प्रतिशत छन्।

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा चालू खाता रु. एक खर्ब ६१ अर्ब ६२ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु. ३५ अर्ब ५७ करोडले घाटामा थियो।

यो अवधिमा पुँजीगत ट्रान्सफरमा भने ३० प्रतिशतले कमी आई रु. तीन अर्ब ११ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. चार अर्ब ५३ करोडले धनात्मक रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org