ताजा समाचार

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’को दुई विकेटको रोमाञ्चक जित

काठमाडौं । क्यानडा एघारलाई दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा नेपालले ८ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।

यो जितसँगै नेपालले ३ खेलको शृंखला १–१ को बराबरी अवस्थमा पुगेको छ । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

आजको खेलमा नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।

यस्तै नेपालको व्याटिङतर्फ बसिर अहमदले ५२ रनमा नट आउट रहेर महत्वपूर्ण पारी खेले । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।

क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org