कैदीबन्दीको बिलौनाः ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो
काठमाडौं । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।
विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले निःशुल्क औजारसमेत उपलब्ध गराएका छन् । दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरूले धागोबाट निर्माण गरिने ढाकाटोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नाङ्लो, डालो, फिपी तथा बाँसकै भाटाबाट निर्माण गरिने मुडा, कुर्सी, टेबललगायतका घरायसी सामग्री उत्पादन गर्छन् ।
कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्यले बताए । “जिल्ला कारागारमा एक सय ५६ जना कैदीबन्दी छन् । उनीहरू सबैजना केही न केही व्यावसायिक काममा आबद्ध छन् । धागोका काम गर्ने ४५ देखि ५० कैदीबन्दी छन् । उनीहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री भएको छैन भन्ने छ”, उनले भने, “बजारमा सस्तो मूल्यको रेडिमेड (तयार गरिएको) ढाकाटोपी पाउँछ । कारागारका कैदीबन्दीले उत्पादन गरेजस्तो गुणस्तरीय पनि छैन । तर मान्छेले सोही सस्तो मूल्यको ढाकाटोपी खरिद गर्दा कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएको हो भन्ने हाम्रो ठम्याइ छ ।”
आफूहरूले उत्पादन गरेका ढाकाटोपी प्रतिगोटा फरक–फरक गुणस्तरको फरक–फरक मूल्य रु तीन सय, छ सय र आठ सयमा बिक्री गर्ने गरिएको कैदीबन्दीले बताएका छन् । जबकि, कारागारका कैदीबन्दीले उत्पादन गरेका सोही ढाकाटोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकले रु एक हजार पाँच सयसम्ममा बिक्री गर्दै आएका छन् ।
कारागारमा रहेका कैदीबन्दीमध्ये ४३ जनाले ढाकाटोपी, सल र पर्स पाँच–पाँच जना तथा रुमाल तीन जनाले बुन्ने गरेको जनाइएको छ । उनीहरूले उत्पादन गरेका ढाकाटोपी दिक्तेल बजारका विभिन्न पसल, त्रिधार्मिकस्थल हलेसी, ऐसेलुखर्क लगायतका हाटबजारमा व्यापारीहरूले बिक्रीका लागि लैजाने गरेका छन् । यद्यपि त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेड टोपीका कारण कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपीले बजार नपाएको जनाइएको छ ।
कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्रीका लागि आफूहरूले समेत बजार तथा ग्राहक खोजी गरिदिने गरेको जेलर आचार्यले बताए। कारागार अनुगमन तथा भेटघाटका लागि आउनेलाई चिनोका रूपमा कैदीबन्दीले नै उत्पादन गरेका ढाकाटोपी खरिद गरेर दिने गरिएको जेलर आचार्यको भनाइ छ ।
आफूहरूले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएपछि करिब तीन हजार थान गोदाममा थन्कयाएर राखिएको चौकीदार कर्णबहादुर बस्नेतले बताउनुभएको छ । “अधिकांश कैदीबन्दी सिर्जनशील तथा व्यावसायिक काममा आबद्ध छौँ । तर हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ । परिबन्दले हामी जेलजीवन बिताउन बाध्य छौँ । हाम्रा पनि घरपरिवार छन् । उनीहरूको गर्जो टार्नकै लागि भए पनि व्यावसायिक काम गर्छौँ । तर बिक्री नहुँदा समस्या भएको छ”, उनले भने, “हामीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न सबैको सहयोग आवश्यक छ । यसमा स्थानीय तथा सङ्घीय सरकारले समेत ध्यान दिन जरुरी छ ।”
कारागारमा रहेका कैदीबन्दीमध्ये बाँसका सामग्री निर्माण गर्ने कैदीबन्दीले भने राम्रो आम्दानी गर्ने गरेको जेलर आचार्यले बताए । “कैदीबन्दीले उत्पादन गरेका बाँसका सामग्री जिल्लाभित्र तथा बाहिरसमेत निर्यात हुने गरेको छ । उनीहरूले उत्पादन गरेका बाँसका सामग्रीमध्ये पनि सबैभन्दा बढी मुडा बिक्री हुने गरेको पाइएको छ”, उनले भने, “मुडा उत्पादन गर्ने कैदीबन्दीलाई भ्यानभ्याई भएको देखिन्छ । उनीहरूले पकेट खर्च गरेर पनि मासिक रु सात–आठ हजार बचत गर्ने गरेको पाइएको छ ।”
बाँसको सिन्का (भाटा खिपेर निर्माण गरिने सानो आकारको डण्डी) बाट निर्माण गरिने १७ इन्चको मुडा रु छ सय, १८ इन्चको रु सात सय र २४ इन्चको रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । कारागारमा बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री बनाउने कैदीबन्दी ३५ जना रहेका छन् । कैदैबन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन् । उनीहरूले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराजलगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ ।
महिला ३३ र पुरुष ६६ जनागरी ९९ जना कैदीबन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला छ जना तथा पुरुष एक सय ५० जना रहेका छन् । दिक्तेलस्थित थामखोरेमा रहेको जिल्ला कारागारको भवन तथा पर्खाल जीर्ण छ ।
Comments
अरु समाचार
-
प्रतितोला चार सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४ सय...
-
नेपालमा लगानी गर्नुस्, सहकार्यका लागि हामी तयार छौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरूलाई...
-
नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन्। तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उदघाटनसत्रमा लगानी...
-
सुरू भयो तेस्रो लगानी सम्मेलन, प्रधानमन्त्री प्रचण्डले गरे उद्घाटन
काठमाडाैँ । तेस्रो लगानी सम्मेलन काठमाडौंमा शुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको काठमाडौंको सोल्टी होटेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल...
-
आजदेखि सुरू हुने लगानी सम्मेलनमा ५५ देशका लगानीकर्ता सहभागी हुने
काठमाण्डौ । आज (आइतवार)देखि शुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार छ...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
काठमाडाैँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा...
-
प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला ५००...
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...