ताजा समाचार

एमाले वाम एकता गर्ने कुरामा हतारिने पक्षमा छैनः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले वाम एकता गर्ने कुरामा पार्टी हतारिने पक्षमा नरहेको बताएका छन् ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणलाई वामपन्थी एकताको सुरुवातको रूपमा चित्रण गरिरहेका बेला ज्ञवालीले त्यसमा हतार गरिहाल्ने अवस्था नरहेको टिप्पणी गरे ।

‘हिजो हामीले गरेको एकता बडो सदासयतापूर्वक गरेका थियौँ । अत्यन्त उत्साहित पनि थियौँ । तर टिकेन,’ ज्ञवालीले भने, ‘विगतका पाठहरूलाई हेर्दै तल उपयुक्त वातावरण नबनिकन, कार्यकर्ता तहमै त्यसले भावनात्मक रूपमा एकता नभइकन माथिको जोडघटाउबाट बनेको एकता टिक्दो रहेनछ भन्ने देखिएको छ । त्यसैले अहिले हामी त्यसमा हतारिदैनौँ ।’

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उपमहासचिव ज्ञवालीले कार्यकर्ता तहमै भावनात्मक एकता नभएसम्म गरिएको एकता नटिक्ने विगतको अनुभव रहेको दृष्टान्त दिए ।

अहिले वामपन्थी एकता, सहकार्य, पार्टी एकतालगायतका विषयमा कुनै पनि छलफल नभएको उनको भनाइ छ ।

‘अहिले हामी त्यो वामपन्थी एकता, सहकार्य, पार्टी एकता त्यसको कुनै पनि विषयमा छलफल गरिरहेका छैनौँ,’ उनले भने, ‘अहिले एउटा वैकल्पिक सरकार बनाउने र सरकारको तहबाट डेलिभरी दिएर अहिले प्रणालीमा आइरहेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा हाम्रो सम्पूर्ण फोकस त्यहाँनेर छ ।’

उपमहासचिव ज्ञवालीले आफ्नो पार्टी सरकारमार्फत व्यवस्थामाथि परेको संकट र जनतामा बढेको निराशालाई चिर्ने कुरामा केन्द्रित रहेको बताए ।

सुदूर भविष्यमा वाम एकता पनि हुन सक्ने भन्दै ज्ञवालीले त्यसलाई भने आफूले नकार्न नमिल्ने बताए । ‘बिस्तारै भावनात्मक एकता बनाउँदै लग्यो, भावनात्मक रूपमा निकटता ल्याउँदै गर्‍यो भने सुदूर भविष्यको कुरालाई हामीले इन्कार गर्न सकिँदैन,’ उनले भने, ‘ढिलो चाँडो मुलुक राजनीतिक ध्रुवीकरणतिर जानैपर्ने हुन्छ । र, त्यो धुव्रीकरणको एउटाको नेतृत्वको निःसन्देह एमालेले गर्ने हो । अर्को धुव्रको नेतृत्व कांग्रेसले गर्ने हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org